नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षका नेता गुरूराज घिमिरेले कांग्रेसभित्र हुकुमी शासनको अभ्यास भएको बताएका छन्।
शुक्रबारको कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्दै वैशाख २८ देखि ३१ सम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको थियो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जना कार्यसम्पादन समिति सदस्यहरूले भने नोट अफ डिसेन्ट लेखेका थिए।
बैठकपछि पत्रकारहरूसँग बोल्दै महामन्त्री थापाले पुसभित्र विशेष महाधिवेशन हुने बताएका थिए।
विशेष महाधिवेशनको पक्षमै रहेका घिमिरेले शनिबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीभित्र विधिविहीनता र बेथितिले चरम रूप लिएको बताएका हुन्।
कांग्रेसमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था छ। जेनजी आन्दोलनपछि १४ औं महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरुले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए।
त्यसलाई बेवास्ता गरिनू विशेष महाधिवेशन मागकर्ता पार्टी सदस्यहरूमाथि गरिएको चरम दुर्व्यवहार र पार्टी विधानको खुल्ला उपहास र उल्लंघन भनेका छन्।
कागजी तालिका न्युनतम रुपमा लागू समेत नगर्ने र स्वेच्छाचारी रुपमा बदल्दा वा समय सार्दा समेत पार्टी सदस्यहरुलाई सामान्य रुपमा अग्रिम सुचनासम्म नदिने प्रवृत्ति देखिएको उनले बताएका छन्। यसलाई नेता घिमिरेले सर्वाधिक अलोकतान्त्रिक मात्र नभई तानाशाहीपूर्ण भनेका छन्।
‘नेपाली कांग्रेसले ७५ बर्ष अघि हुकुमी शासनको अन्त्य गरेको थियो।अहिले कांग्रेस भित्रै हुकुमी शासन झल्काउने अभ्यास चलिरहेको छ। नेतासरह वा त्यसभन्दा बढी योगदान गरेका पार्टी सदस्यहरुलाई रैती,पार्टीलाई निजी जमिनदारी र घरेलु मामिला ठान्ने प्रवृत्ति सर्वथा निन्दनीय छ। विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पार्टी नेतृत्व अघि बढ्न सक्दैन। जबरजस्ती गरे भविष्यमा उत्पन्न हुनसक्ने राजनीतिक दुर्घटनाका लागि नेतृत्व स्वयं जिम्मेवार हुनेछ,’ उनले भनेका छन्।
उनले वर्तमान चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा पार्टीलाई एकढिक्का बनाउँदै अघि बढ्न विशेष महाधिवेशनको मागलाई सकारात्मक रुपमा सम्बोधन गरेर मात्र अघि बढ्न आग्रह पनि गरेका छन्।
नेपाली कांग्रेस विधिको शासनका लागि आठ दशक संघर्ष गरेको पुरानो लोकतान्त्रिक पार्टी भएकाले यसको राजनीतिक शाख,प्रतिष्ठा र जनाधार अरु दलको भन्दा उच्च एवं व्यापक छ भन्ने कुरा नेतृत्वकले हेक्का राख्नुपर्ने पनि नेता घिमिरेले बताएका छन्।
‘यो अरु दल जस्तै औसत दल होइन भन्ने यथार्थको हेक्का पार्टी नेतृत्वले राख्न सक्नुपर्छ,’ उनले भनेका छन्।