नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी भित्रको पछिल्लो अवस्थाका बारेमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापति लगायतसँग अन्तर्क्रिया गरी राय लिएका छन्।
विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा आज भएको छलफलमा अहिलेको विषम परिस्थितिको समुचित निकास के हुन सक्छ? राष्ट्रमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्द्वलाई सुरक्षित अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा पनि छलफल भएको हो।
त्यसैगरी हिजो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले विशेष महाधिवेशनका सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ? आगामी आम निर्वाचनमा एकताबद्ध रूपमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयहरूमा पार्टीभित्र देखिएको दुवै पक्षलाई एक सूत्रमा ल्याउने उपायहरूका बारेमा समेत उक्त बैठकमा विस्तृत छलफल भएको कोइरालाको सचिवालयको भनाइ छ।
हालै पार्टीको अनुशासन समितिले गरेका कारबाहीको फुकुवाका सम्बन्धमा जोजो व्यक्तिहरू जुनजुन पदमा थिए उनीहरू तत् तत् पदमा कायम रहनुपर्नेमा समेत सहभागीहरूको भनाइ थियो।
आगामी आम निर्वाचनमा एक भएर अघि बढ्नु समयको माग एवं आवश्यकता हो भन्नेमा उपस्थित सबै नेताहरूको एकमत रहेको कोइरालाको सचिवालयको भनाइ छ।