अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'आश्चर्यजनक र शक्तिशाली' भनेका भेनेजुएलाली राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले पक्राउ गरेपछि तेलसमृद्ध देश भेनेजुएलामा अब वास्तविक सत्ता कसले चलाइरहेको छ भन्ने प्रश्न गहिरिँदै गएको छ।
ट्रम्पले शनिबार उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई मदुरो पक्राउपछि सपथ गराइएको र उनले अमेरिकी विदेशमन्त्री मार्को रूबियोसँग कुराकानी गरेको दाबी गरेका थिए। यसले डेल्सीले नै भेनेजुएलाको सत्ता सम्हाल्ने अनुमान बढेको थियो।
भेनेजुएलाको संविधान अनुसार पनि मादुरो अनुपस्थित हुँदा रोड्रिगेज कार्यवाहक राष्ट्रपति बन्छिन्, जसलाई देशको सर्वोच्च अदालतले शनिबार राति औपचारिकता दिएको छ।
तर ट्रम्पको भनाइको केही समयमै रोड्रिगेज सरकारी टेलिभिजनमा उपस्थित भइन्। उनको साथमा राष्ट्रियसभाका सभामुख तथा उनका दाजु जोर्ज रोड्रिगेज, गृहमन्त्री दियोस्दादो काबेल्लो र रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेज थिए। उनले मदुरो नै भेनेजुएलाका एक मात्र राष्ट्रपति भएको दोहोर्याइन्।
यो संयुक्त उपस्थितिले मदुरोसँग सत्ता बाँड्दै आएको समूह अहिलेसम्म एकजुट रहेको संकेत गरेको विश्लेषकहरू बताउँछन्।
यसैबीच ट्रम्पले शनिबार विपक्षी नेता तथा नोबेल पुरस्कार विजेता मारिया कोरिना माचाडोसँग सहकार्यको सम्भावना अस्वीकार गरे। उनले माचाडोलाई देशभित्र पर्याप्त समर्थन नभएको बताए।
माचाडोलाई २०२४ को निर्वाचनमा उम्मेदवार बन्न नदिइएपछि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले उनको प्रतिनिधि उम्मेदवारले भारी मतान्तरले जितेको बताए पनि मदुरो सरकारले विजय आफ्नो भएको दाबी गरेको थियो।
विश्लेषकहरूका अनुसार, एक दशकभन्दा बढी समयदेखि भेनेजुएलाको वास्तविक सत्ता सीमित उच्च अधिकारीहरूको घेराभित्र केन्द्रित छ। यो प्रणाली निष्ठावान सञ्जाल, सुरक्षा निकाय, भ्रष्टाचार र निगरानीमा आधारित छ।
भित्री शक्ति संरचनामा नागरिक र सैनिकबीचको सन्तुलन कायम छ। रोड्रिगेज दिदी–भाइ नागरिक पक्षका प्रतिनिधि हुन् भने पाद्रिनो र काबेल्लो सैनिक पक्षका शक्तिशाली पात्र मानिन्छन्।
यस संरचनाका कारण मदुरो मात्र हटाएर वर्तमान शासन व्यवस्था विघटन गर्नु जटिल रहेको अमेरिकी तथा भेनेजुएलाली विश्लेषकहरूको भनाइ छ।
'तपाईंले सरकारको एक टुक्रा हटाउनुभयो, परिवर्तन ल्याउन विभिन्न तहका धेरै पात्र हटाउनुपर्छ,' भेनेजुएलासम्बन्धी आपराधिक अनुसन्धानमा संलग्न एक पूर्वअमेरिकी अधिकारीले भने।
विशेष गरी दियोस्दादो काबेल्लोमाथि सबैको ध्यान केन्द्रित भएको छ। उनी सैन्य तथा नागरिक प्रतिविद्या निकायमाथि प्रभाव जमाउने व्यक्ति मानिन्छन्।
'काबेल्लो सबभन्दा वैचारिक, हिंस्रक र अनिश्चित पात्र हुन्,' भेनेजुएलाली सैन्य रणनीतिकार होसे गार्सिया भन्छन्।
काबेल्लो पूर्वसैनिक अधिकृत हुन् र सत्तारूढ समाजवादी पार्टीका प्रभावशाली नेता पनि हुन्। औपचारिक रूपमा सेना रक्षामन्त्री पाद्रिनोको नियन्त्रणमा रहे पनि काबेल्लोको सशस्त्र बलमा उल्लेख्य प्रभाव छ।
भेनेजुएलामा करिब २,००० जनरल र एडमिरल छन्, जुन अमेरिकाभन्दा दोब्बर हो। वरिष्ठ तथा अवकाशप्राप्त अधिकृतहरूले खाद्य आपूर्ति, कच्चा पदार्थ र सरकारी तेल कम्पनी नियन्त्रणमा लिएका छन्। धेरै जनरल निजी कम्पनीका बोर्डमा पनि छन्।
स्रोतहरूका अनुसार, सैन्य अधिकारीहरू तस्करी र अवैध व्यापारबाट पनि लाभ उठाइरहेका छन्। काबेल्लो र पाद्रिनो नजिकका कमान्डरहरू सीमावर्ती क्षेत्र र औद्योगिक केन्द्रका महत्वपूर्ण ब्रिगेडमा खटाइएका छन्, जुन तस्करी मार्गसँग पनि जोडिएका छन्।
एक भेनेजुएलाली वरिष्ठ नेताको पक्षमा वकालत गरेका वकिलका अनुसार, यो शासन पूर्ण रूपमा हटाउन २० देखि ५० सम्म उच्च सैन्य अधिकारीहरू हटाउनुपर्ने हुन सक्छ।
मदुरो पक्राउ परेपछि करिब एक दर्जन पूर्वअधिकारी र वर्तमान जनरलहरूले अमेरिकासँग सम्झौताको संकेत गरेको, सूचना दिएर सुरक्षित निकास र कानुनी उन्मुक्ति खोजेको पनि बताइएको छ। काबेल्लो भने हाल त्यसतर्फ इच्छुक नरहेको ती वकिलको भनाइ छ।