राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको ५८ औं केन्द्रीय समिति बैठकले पार्टी एकता र समायोजनका लागि उपसमिति गठन गरेको छ।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकले पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण र निस्कर्षमा पुर्याउन पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए।
उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने छ।
बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि पार्टी उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गरेको प्रवक्ता झाले बताए।
उक्त उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिइएको झाको भनाइ छ। ।उपसमितिको सदस्यहरू पनि पार्टी सचिवालयले मनोनयन गर्ने छ।