उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समानुपातिक तर्फको एउटै सूची बनाउन सहजीकरणका लागि निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
दुवै दलले समानुपातिकतर्फ छुट्टाछुट्टै सूची बुझाएका छन्। दुई दलबीच समानुपातिक तर्फको बन्द सूची बुझाउने दिन नै एकताको सहमति भएको थियो।
तर आयोगमा भने समानुपातिक तर्फको छुट्टाछुट्टै सूची बुझाएका थिए।
दुई दलबीच एकीकरण गर्ने सहमति भए पनि पार्टीको नाम, चुनाव चिह्न लगायतका विषय टुङ्गोमा पुगेको छैन। निर्वाचन आयोगमा पुगेर दुवै दलका नेताहरूले एकीकरण भइसकेको अवस्थामा समानुपातिकको सूची एउटै बनाउन पाउनुपर्ने र एउटै चुनाव चिह्न मतपत्रमा राखिदिन आयोगलाई आग्रह गरेका हुन्।
तर आयोगले भने ठोस जबाफ दिएको छैन।
दलहरूबीच कुनै पनि समय एकीकरण हुन सक्ने प्रावधान राजनीतिक दलसम्बन्धी ऐनमा भए पनि निर्वाचनका लागि छुट्टाछुट्टै दल दर्ता गरेको अवस्थामा कसरी अघि बढ्ने भन्नेमा आयोग असमञ्जमा परेको हो।
‘अब मतपत्र छपाइ सुरु हुने बेला भयो। जतिसुकै बेला दलहरू एकीकरण हुने र एउटै चुनाव चिह्न तथा समानुपातिकको सूची बनाइदिनु भन्ने हो भने आयोगले निर्वाचनको व्यवस्थापन गर्न सक्दैन’, आयोग स्रोतले भन्यो, ‘हामी उहाँहरुलाई समानुपातिकको सूची एउटै बनाउने कानुन नभएको जानकारी गराएका छौं।’
तर निर्वाचन आयोगसँगको छलफलमा सहभागी भएका जसपा नेपालका नेता लालबाबु राउतले आयोगले फागुन २७ गतेपछि दुवै सूचीमा भएको नाममा दाबी विरोध गर्दा मिलाउन सकिने जवाफ दिएको सेतोपाटीलाई बताए।
आयोगले एउटा दलको सूचीमा भएका सबैको नाम फिर्ता लिने र अर्को दलको सूचीमा भएका केहीको नाम फिर्ता लिएर सूची मिलाउन सकिने सुझाव दिएको छ। तर राउतले आयोगले दिएको उपायबारे विस्तृतमा बताएनन्।
निर्वाचन आयोगले दुवै दललाई एकीकरण भएकै कारण एउटै सूची बनाउने व्यवस्था गर्न सम्भव नभएको जबाफ दिएको छ। तर जसपा र लोसपाको एकता र साझा सूची बनाउन बाँकी छ।
जसपा नेपालले आफ्नो नाम र छाता चुनाव चिह्नबाटै निर्वाचन जान आग्रह गरिरहेको छ।
लोसपा नेपालले भने साइकल चुनाव चिन्हमा अघि बढ्नुपर्ने बताएको छ। तर सहमति जुटेको छैन।
‘साझा सूची बनाउने र एकताको विषय टुङ्ग्याउने विषयमा छलफल भइरहेको छ’, जसपा नेपालका एक नेताले सेतोपाटीसँग भने, ‘तर टुङ्गोमा पुगेको छैन। लोसपा नेपालले छाता चुनाव चिह्न र नाम स्वीकार गर्न अफ्ठ्यारो मानिरहेको छ।’