२०४८ यता नेपालमा संविधान सभाका दुईसहित सात वटा आम निर्वाचन भएका छन्।
मोरङ- ६ मा एउटा उपनिर्वाचन पनि भएकाले यहाँका मतदाताले अहिलेसम्म ८ पटक आफ्ना प्रतिनिधि छानिसकेका छन्।
यो क्षेत्रमा भएका यी आठ वटै चुनावमा एउटा रोचक संयोग के छ भने एउटामा बाहेक प्रत्येक चुनावमा मतदाताले नयाँ विकल्प रोजेका छन्।
यसरी हालसम्म भएका प्रत्येकजसो निर्वाचनमा मन र मत बदल्दै आएका मोरङ- ६ का मतदाता फागुन २१ मा नवौंपटक आफ्नो प्रतिनिधि छान्ने तयारीमा छन्। यसपटक यो क्षेत्रमा १ लाख ३७ हजार ८३२ जना मतदाता छन्।
पूर्वको सबभन्दा अनिश्चित र चलायमान निर्वाचन क्षेत्र मानिने यो क्षेत्रका मतदाताले यसपटक पनि पुरानै स्वभाव कायम राख्लान् कि नराख्लान्?
फागुन २१ मा हुने निर्वाचनले मोरङ–६ का मतदाताको ऐतिहासिक स्वभावले निरन्तरता पाउँछ कि त्यसको क्रमभंग हुन्छ भन्ने प्रश्नको उत्तर दिनेछ।
यसपटक चुनावी मैदानमा रहेका यो क्षेत्रका उम्मेदवारहरूको चुनावी भाग्यको फैसला त्यसैमा निर्भर रहनेछ।
मोरङ-६ मा यसपटक नेपाली कांग्रेसका नेता शेखर कोइराला, नेकपा एमालेका नेता विनोद ढकाल, नेपाली कम्युनिस्ट पार्टीबाट ओपेन्द्र राय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रूविना आचार्य लगायत उम्मेदवार छन्।
शेरबहादुर देउवा कांग्रेसको सभापति हुन्जेल संस्थापनइतर पक्षको नेतृत्व गरेका शेखर र एमालेमा अध्यक्ष केपी शर्मा ओलीविरोधी कित्तामा रहेका नेता विनोद ढकालबीच यहाँ १७ वर्षपछि चुनावी ‘रिम्याच’ पनि हुँदैछ।
एमालेका ढकालले २०७९ मा मोरङ ४ मा प्रतिस्पर्धा गरेका थिए। त्यसबेला माओवादीका अमनलाल मोदीसँग पराजित उनको नाम यसपटक मोरङ १, ४ र ६ बाट सिफारिस भएको थियो।
एमाले अध्यक्ष ओलीले पार्टीको ११ औं महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गर्ने टिमका धेरै नेताहरूको टिकट 'होल्ड' मा राख्दा ढकाल पनि त्यही सूचीमै थिए। अन्तिममा ओलीले ढकाललाई नै टिकट दिएका थिए।
त्यसो त यसपटक यहाँको चुनावी भिडन्त कांग्रेस र एमाले बीचमा मात्रै सीमित छैन। चार प्रमुख दलका प्रभावशाली अनुहारसँगै नयाँ दल र नयाँ पुस्ताका उम्मेदवारहरूको पनि प्रवेशले मोरङ–६ को चुनावी माहोललाई अझ चासोपूर्ण बनाइदिएको छ।
निर्वाचन क्षेत्रको सीमांकन फेरिँदै जाँदा यो भूगोल कहिले मोरङ–७ त कहिले मोरङ–६ का रूपमा चिनिँदै आएको छ। क्षेत्र नम्बर फेरिए पनि मुख्य भूगोल भने उही रहँदै आएको छ।
यो क्षेत्रको चुनावी इतिहास २०४८ सालदेखि नै रोचक छ। प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो निर्वाचनमा मोरङ- ६ बाट नेपाली कांग्रेसका श्यामलाल तबदार विजयी भएका थिए। त्यसको तीन वर्षपछि भएको २०५१ सालको मध्यावधि निर्वाचनमा मतदाताले निर्णय बदलेर एमालेका गुरू बराललाई जिताइदिए।
मोरङ-६ का मतदाताले २०५६ को निर्वाचनमा फेरि मत बदलेर कांग्रेसलाई जिताएका थिए।
कांग्रेसका हरिनारायण चौधरी विजयी हुँदा अघिल्लो निर्वाचनका विजेता गुरू बराल पराजित भए। लगातार तीन निर्वाचनमा फरक–फरक व्यक्ति विजयी बनेकै कारण पनि यो क्षेत्र स्थिर जनमतको होइन, चलायमान जनमतको क्षेत्र भएको देखिएको थियो।
यो प्रवृत्ति बहुदलकालमा मात्रै सीमित रहेन।
२०६२–६३ को जनआन्दोलन पछिका निर्वाचनहरूले पनि यही चरित्रलाई निरन्तरता दिए।
जतिबेलासम्म कांग्रेस र एमाले जस्ता ठूला दलहरू मात्रै चुनावी प्रतिस्पर्धामा थिए, त्यस बेलासम्म मोरङ ६ का मतदाताले तिनै दुई दललाई पालो गरीगरी जिताएका थिए। संविधान सभाको पहिलो निर्वाचनदेखि दलहरूको संख्या ह्वात्तै बढ्यो।
२०६४ को पहिलो संविधानसभा निर्वाचनले मुलुककै राजनीतिमा नयाँ मोड ल्याएको थियो।
त्यसबेला माओवादी देशका बहुसंख्यक क्षेत्रमा विजयी भइरहँदा मोरङको यो क्षेत्रमा भने मधेसी जनअधिकार फोरमका विजयकुमार गच्छदार विजयी भए। त्यसबेला कांग्रेसका शेखर कोइराला पराजित भएका थिए।
त्यसबेला गच्छदार नेपाली कांग्रेस छाडेर मधेसी आन्दोलनको पक्षमा उभिएका प्रभावशाली नेता थिए।
त्यसबेला उनले दुई निर्वाचन क्षेत्रबाट जितेपछि मोरङ–७ छाडेका थिए। गच्छदारले छाडेपछि २०६५ मा उपनिर्वाचन भयो। उपनिर्वाचनमा कांग्रेसका शेखर कोइराला जित हात पार्न सफल भए।
त्यो उपनिर्वाचनमा एमालेका विनोद ढकाल पनि चुनावी प्रतिस्पर्धामा थिए।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका शेखर कोइरालालाई यो क्षेत्रले दोहोर्याएर जिताएको थियो।
त्यसबेला कोइराला र गच्छदारबीच नै कडा प्रतिस्पर्धा भएको थियो।
गच्छदार मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नामक नयाँ दल बनाएर चुनावी मैदानमा उत्रिएका थिए। कांग्रेसका कोइरालाले ११ हजार ३८६ मत प्राप्त गरेर जित्दा गच्छदार ९ हजार ८५० मतमा सीमित बन्न बाध्य भएका थिए।
२०७२ सालमा नयाँ संविधान जारी भएपछि निर्वाचन क्षेत्र पुनःसंरचना भयो। मोरङ जिल्लामा ६ वटा निर्वाचन क्षेत्र कायम भए।
मोरङ ६ मा बुढीगंगा गाउँपालिका, सुन्दरहरैंचा नगरपालिकाका २ देखि ७ नम्बर वडा र विराटनगर महानगरपालिकाका ४, ५, ६, ७, ९, ११ र १२ नम्बर वडा समेटिएका छन्।
नयाँ संविधान जारी भएपछि अहिलेसम्म दुईपटक आम निर्वाचन सम्पन्न भएका छन्।
यसबीचमा गच्छदार फेरि पुरानै घर कांग्रेसमा फर्किसकेका छन्। उनी कांग्रेस फर्केपछि यो क्षेत्रमा फेरि कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुँदै आएको छ।
२०७४ को निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन हुँदा वाम गठबन्धनका तर्फबाट एमालेका लालबाबु पण्डितले कांग्रेसका कोइरालालाई पराजित गरेका थिए।
२०७९ मा भने चुनावी समीकरणमा परिवर्तन भयो। कांग्रेस, माओवादी र एमालेबाटै विभाजित एकीकृत समाजवादी मिलेर चुनावमा गएका थिए।
२०७९ मा कांग्रेसका कोइराला ३५ हजार २२४ मत पाएर जित हासिल गर्न सफल भए। एमालेका पण्डितले २२ हजार ९४६ मत पाएर दोस्रो बन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधान ९ हजार १४० मतसहित तेस्रो बनेका थिए।
२०७९ को निर्वाचनमा यो क्षेत्रमा समानुपातिकतर्फ कांग्रेसले २३ हजार ७१० मत पाएर पहिलो बनेको थियो।
एमाले १९ हजार ३८९मतसहित दोस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ११ हजार ५२६ मतसहित तेस्रो भएको थियो।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले १० हजार ६४१, माओवादी केन्द्रले ८ हजार १८५ मत प्राप्त गरेका थिए। जनमत पार्टीले २ हजार २०१, नागरिक उन्मुक्ति पार्टीले १ हजार १८४ र जनता समाजवादी पार्टी नेपालले समानुपातिकतर्फ १ हजार १३१ मत पाएका थिए।
फागुन २१ का लागि मंगलबार भएको उम्मेदवारी मनोनयनमा मोरङ–६ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
यसपटक २५ वर्षीय जेनजी उम्मेदवार राम खत्रीले उम्मेदवारी फिर्ता लिइसकेका छन्। उनी ‘द काउन्सिल अफ जेनजी मोरङ’ का संयोजक हुन्।
२०४८ यता भएका सबै निर्वाचन नजिकबाट नियाल्दै आएका विराटनगरका लीला भण्डारीले भने, ‘अहिलेसम्म एकपटक बाहेक यहाँका मतदाताले हरेकपटक निर्णय फेरेको देखिन्छ। यही कारण न त कुनै दल स्थायी विजेता बनेको छ, न त कुनै व्यक्ति।’
उनका अनुसार यसपटक पनि अनुभवी नेताहरू र नयाँ पुस्ताका प्रतिनिधिबीचको प्रतिस्पर्धाले मोरङ–६ को चुनावी प्रतिष्पर्धा रोचक बनाउने सम्भावना छ।