सल्यानमा एउटा मात्रै निर्वाचन क्षेत्र छ। एक जना निर्वाचित हुने ठाउँमा १४ जना उम्मेदवार छन्।
सल्यानमा ६० वर्षीय नेकपा (एमाले) का कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह, नेपाली कांग्रेसका जिल्ला सभापति ५७ वर्षीय केशबहादुर विष्ट, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ४७ वर्षीय रमेशकुमाल मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश महामन्त्री ४२ वर्षीय ललितकुमार चन्द , राष्ट्रिय प्रजातन्त्र पार्टीकी निवर्तमान प्रतिनिधिसभा सदस्य ३२ वर्षीया अनिशा नेपाली उम्मेदवार छन्।
यी बाहेक नेपाली कम्युनिष्ट पार्टी (माओवादी) का पोलिटब्युरो सदस्य ४८ वर्षीय चन्द्रबहादुर खड्का, ३१ वर्षका युवा अभियानी धुर्वराज वली, ३० वर्षका राष्ट्रिय एकता अभियानी जुद्धबहादुर सिंह लगायत मैदानमा छन्।
२०७९ सालमा पनि कांग्रेस–तत्कालीन माओवादी–नेकपा एस लगायतका दलहरूका बीचमा चुनावी तालमेल भएको थियो। त्यो समयमा सल्यानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एसका प्रकाश ज्वाला निर्वाचित भएका थिए।
समानुपातिक मत विश्लेषण गर्ने हो भने अहिले पनि तीन पार्टीकै बीचमा मुख्य प्रतिस्पर्धा हुने आकलन गर्न मिल्छ। कांग्रेस, एमाले र नेकपा यी तीन वटै परम्परागत शक्तिका बीचमा जिल्लामा बलिया संगठनहरू छन्। तर, पनि पछिल्लो परिवर्तित परिस्थितिमा नयाँ शक्तिका रूपमा उदाएको रास्वपा लगायत अन्य स्वतन्त्र उम्मेदवारको प्रभाव पनि सशक्त देखिएको छ।
यतिखेर मैदानमा उभिएका प्रतिस्पर्धीमध्ये एमाले उम्मेदवार शाह पूर्वकर्णाली प्रदेश सभाका सदस्य हुन्। बामगठबन्धनको समयमा २०७४ मा शाह प्रदेशसभामा निर्वाचित भएका थिए। तर, कांग्रेस – माओवादीका बीचमा गठबन्धन हुँदा उनै शाह २०७९ को प्रदेशसभा सदस्यमा भने पराजित भएका थिए। कांग्रेसका सुरेश अधिकारीले एमालेका शाहलाई पराजित गरेका थिए।
पछिल्लो समय फेरि कांग्रेसको स्थिति सुधार हुँदै गएको त्यो एउटा छनक पनि हो। जिल्लाको प्रमुख जनघनतत्व रहेको बजार शारदा नगरपालिका, सिद्धकुमाख कांग्रेसले जित्नुलाई पनि त्यसैको सूचक मानिएको छ।
कांग्रेस उम्मेदवार केशबहादुर जिल्ला सभापति हुन्। जिल्लामा उनको राम्रो पकड रहेको मानिन्छ। पूर्वजिल्ला समन्वय समिति प्रमुख पनि हुन्। तर उनी गत स्थानीय तह निर्वाचनमा छत्रेश्वरी गाउँपालिकामा पराजित भएका थिए। जहाँ २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसकै युवा सन्तोष केसी निर्वाचित भएका थिए। केशबहादुर २०७९ मा गाउँपालिकामा पराजित हुनुलाई पार्टी भित्रको गुटगत राजनीति मानिएको थियो। तर, यसपटक कांग्रेस सल्यानमा एक ढिक्का देखिएको छ। पहिलो पटक संसदीय निर्वाचनमा होमिएका विष्टले एकजुट कांग्रेसको फाइदा उठाउन सक्ने आकलन भइरहेको छ।
त्यस्तै, स्थानीय तह, प्रदेशका कुनै पनि चुनाव नलडेका मल्ललाई नेकपाले एकैपटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ। पहिलो पटकमै संसदीय निर्वाचनमा होमिन थालेका मल्ल पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को स्वकीय सचिवको रूपमा काम गरेको हुँदा उनले टिकट पाएका हुन्। यद्यपी उनी विद्यार्थी राजनीतिबाट उदाएका व्यक्ति हुन्। उनी अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष पनि हुन्। युवा माझ उनको लोकप्रियता छ।
रास्वपाका उम्मेदवार चन्द, नेकपा (माओवादी) खड्का पनि पूर्वमाओवादी निकट हुन्। स्रोतका अनुसार राप्रपाकी अनिशाको २०७४ अघिको राजनीतिक पृष्ठभूमि पनि माओवादीकै हो। यी चार पूर्वमाओवादी निकट बीचको टकराव चासोको विषय बनेको छ।
रास्वपाका कर्णाली प्रदेश महामन्त्री ललित चन्द पेशाले इन्जिनियर हुन्। उनको पेशागत प्रतिष्ठा र आकर्षक व्यक्तित्वले धेरै युवा आकर्षित छन्। नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य चन्द्रबहादुर खड्का (असल) माओवादी पूर्वलडाकू कमाण्डर हुन्।
राप्रपाकी उम्मेदवार अनिशा नेपाली यसअघि संसदमा समानुपातिक सांसद थिइन्। सानो उमेरमै प्रतिनिधिसभा सदस्य बन्ने सौभाग्य पाएकी उनी फागुन २१ को निर्वाचनमा पहिलो पटक प्रत्यक्षतर्फ मैदानमा होमिँदै छिन्।
कांग्रेस उम्मेदवार विष्ट आफै पार्टी सभापति हुन्। पार्टीभित्र उनको मजबुत पकड छ।
समानुपातिक तर्फको मत हेर्दा २०७९ मा एमालेले २२२५६, नेकपा (माओवादी केन्द्र) ले २१३२५, कांग्रेसको १९९६६, नेकपा (एकीकृत समाजवादी) को ५९७०, रास्वपाको ४५२२, राप्रपाको २३०८ मत छ।
गत निर्वाचन २०७९ को एमालेको समानुपातिक मत विश्लेषण गर्दा सबैभन्दा धेरै छ। कांग्रेस–माओवादी गठबन्धन हुँदा प्राप्त त्यो मत जोगाउन सके एमाले शाह विजयी बन्ने सम्भावना छ।
मतदाताले पहिलो पटक संसदीय निर्वाचनमा होमिएका नयाँ अनुहार रोज्छन् वा पुरानै अनुहार त्यो निर्वाचनपछि मात्रै स्पष्ट हुनेछ। नेकपा रमेश, कांग्रेसका विष्ट पहिलो पटक संसदीय निर्वाचनमा भाग लिँदै छन् भने एमालेका शाह प्रदेश सभामा एक पटक विजय र एक पटक पराजय बेहोरेका व्यक्ति हुन्।
यद्यपी सल्यानमा यतिखेर पनि कांग्रेस, एमाले र नेकपाकै बीचमा मुख्य प्रतिस्पर्धा हुने आकलन भइरहेको छ।
यी तीन पार्टीका बीचमा मुख्य प्रतिस्पर्धा हुँदा नयाँ शक्तिको रूपमा उदाएको रास्वपाको सम्भावना उत्तिकै छ। परम्परागत तीन शक्तिका मतहरू आफूतिर आकर्षित गर्न सके रास्वपाको सम्भावना बलियो बन्न सक्छ।
सल्यानमा पुरूष मतदाता ८३, ३२१ र महिला मतदाता ७९,१२८ गरी कुल मतदाता १,६२,४४९ छन्। ५१ देखि ६५ वर्ष उमेर समूहका मतदाता सबभन्दा धेरै ५० प्रतिशत छन् भने ३५–५० उमेरका २५ प्रतिशत र २५–३५ उमेर समूहका पनि समान २५ प्रतिशत मतदाता छन्।