सेयर बजारमा सूचीकृत समूहहरूमध्ये हाइड्रोपावर क्षेत्रको समूहगत परिसूचकले सबभन्दा चाँडै 'ब्रेक–आउट' गर्न सक्ने संकेत देखिँदै गएको छ।
जलविद्युत समूहले केही दिनअघि मात्रै नयाँ उचाइ बनाएर फर्किएको थियो। गत चैत १५ गते यो समूहगत परिसूचकले ४१०४ मा हालसम्मकै उच्च विन्दु बनाएको थियो।
तर राजनीतिक दलका नेता र व्यवसायी पक्राउको घटनापछि समग्र बजार नै ओरालो लाग्दा यो परिसूचक मात्रै टिकिरहन सकेन।
अहिले समग्र बजार सुधार हुँदा यो समूहगत परिसूचकमा पनि सुधार भइरहेको छ। बिहीबार मात्रै यो समूहगत परिसूचक १०५ अंक (२.७० प्रतिशत) ले वृद्धि भएर ४०१२ मा पुगेको छ।
त्यसैले यो समूहले नयाँ उचाइ बनाउने तयारी गरिरहेको देखिन्छ।
पछिल्ला चार दिनमा मात्रै यो सूचकले लगातार बढेर ३७८ अंक जोडेको छ। शुक्रबार यो समूहगत परिसूचक ९२ अंकभन्दा धेरैले बढेमा नयाँ उचाइ बनाउँछ।
नयाँ उचाइ बनाइरहँदा यो कत्तिको दिगो छ भनेर ध्यान दिनुपर्छ। ब्रेक–आउट हुनै लाग्दा यो क्षेत्रको कारोबार रकम बढ्दै छ कि छैन, यो क्षेत्रमा पनि राम्रा र नेतृत्व लिइरहेका कम्पनीको मूल्य बढिरहेको छ कि छैन भन्ने ध्यान दिनुपर्छ।
ब्रेक–आउट भयो भने पनि केही दिनको कारोबार अवलोकन गर्नुपर्ने हुन्छ। किनभने ब्रेक–आउट विन्दु नै अहिलेका लागि प्रतिरोध विन्दु पनि बनिरहेको हुन्छ। त्यो तह पार गरेर सूचक घट्दा फेरि यही विन्दुले टेवाको काम पनि गर्छ।
अहिले समग्र बजार (नेप्से) ले नै पटक पटक ३००० को विन्दुमा प्रतिरोध पाइरहेको छ। समग्र बजार घटबढ हुँदा यहाँका समूहगत परिसूचकहरू पनि सँगसँगै घटबढ हुने गरेकाले यसलाई पनि विचार पुर्याउनुपर्छ।
जलविद्युत समूहगत परिसूचकले ब्रेक–आउट गर्यो र त्यसपछि पनि केही दिन यो सूचक र कारोबार रकम बढ्यो भने ब्रेक–आउट तत्काललाई स्थायी भएको मान्न सकिन्छ।
अहिले जलविद्युत समूहमा सुधार हुनुमा आधारभूत पक्षले पनि काम गरिरहेको छ। चाँडै प्रि–मनसुन सुरू भइसकेकाले नदीहरूमा पानीको बहाव बढ्न थालेको छ।
यसले जलविद्युत क्षेत्रको उत्पादन र आम्दानी दुवै बढ्ने सम्भावना हुन्छ। विशेषगरी नदीको बहावमा आधारित आयोजनाहरूमा यस्तो सम्भावना छ। अहिले बैंकहरूको ब्याजदर न्यून विन्दुमा रहेकाले जलविद्युत कम्पनीहरूको ब्याज खर्चमा पनि सुधार हुने देखिन्छ।
तर केही समय अघिदेखिको पेट्रोलियम पदार्थ आपूर्तिमा विश्वभर भइरहेको अवरोधका कारण निर्माण चरणमा रहेका वा अन्य निर्माणाधीन आयोजनामा लगानी गरिरहेका जलविद्युत कम्पनीको लागत बढिरहेको हुन सक्छ। यस्ता पक्षमा लगानीकर्ताले ध्यान दिन जरूरी छ।
नेपाल प्राकृतिक रूपमा संवेदनशील क्षेत्र हो। त्यसैले नियन्त्रण बाहिरको प्राकृतिक विपत्ति आइपर्दा जलविद्युत आयोजनाहरूमा प्रभाव पर्न सक्छ। यस्ता पक्षमा लगानीकर्ताले ध्यान दिन जरूरी छ।
प्राविधिक विश्लेषणको औजार मैनबत्ती चित्रले भने यो समूहगत परिसूचक केही दिन बढ्न सक्ने संकेत गरिरहेको छ।
बुधबार र बिहीबार दुवै दिन हरियो लामो मैनबत्ती चित्र बनाएको छ। पहिलो दिन बनेको मैनबत्तीको बन्द विन्दुभन्दा माथि नै बिहीबारको मैनबत्तीको सुरू विन्दु बन्यो। यी दुईबीच ग्याप देखियो।
शुक्रबार पनि जलविद्युत समूह बढेर हरियो भएमा केही दिन बजार बढ्ने यसले संकेत गर्छ।
शुक्रबार यो समूह बिहीबारको सुरू विन्दुभन्दा माथिबाट सुरू भयो र घटे पनि बुधबारको सुरू विन्दुभन्दा माथि नै रह्यो भने बुलिस प्रवृत्ति कायमै रहन सक्ने संकेत गर्छ।
यस्तो भएमा 'अपसाइड ग्याप थ्री मेथड बुलिस' आकृति बन्छ। यसले परिसूचक बढ्ने संकेत गर्छ। यो दरिलो संकेत भने होइन।