इरानसँग परमाणु कार्यक्रमबारे वार्तामा अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुने भएका छन्।
मंगलबार स्वीट्जरल्याण्डको जेनेभामा अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता हुँदैछ।
वार्ताका लागि अमेरिकाबाट राष्ट्रपति ट्रम्पका मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकोफ र ट्रम्पकै ज्वाँइ ज्यारेड कुश्नर सहभागी हुनेछन्।
वार्ताकै लागि इरानका विदेशमन्त्री अब्बास अराक्ची सोमबार नै जेनेभा पुगिसकेका छन्।
दुई देशबीचको उच्चस्तरीय वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले आफू पनि अप्रत्यक्ष रूपमा सहभागी हुने बताएका हुन्।
सोमबार एयरफोर्स वानमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले आफू सो वार्तामा अप्रत्यक्ष रूपमा सहभागी हुन लागेको बताएका हुन्।
'वार्ता अत्यन्त महत्त्वपूर्ण रहनेछ। त्यसकारण अप्रत्यक्ष रूपमा मेरो संलग्नता पनि हुनेछ,' ट्रम्पले पत्रकारहरूसँग भने।
ट्रम्पले पछिल्लो समय इरान पनि सम्झौता गर्ने पक्षमा रहेको बताएका छन्।
'उनीहरू सम्झौता नगरेर त्यसको परिणाम भोग्न चाहन्छन् भन्ने मलाई लाग्दैन,' ट्रम्पले भने।
तेहरानसँग वार्ता विफल भए वासिङ्टनले इरानमा सैन्य कारबाही गर्ने लगभग पक्का भएको अमेरिकी अधिकारीहरुले बताएका छन्।
यसअघि ओमानको मस्कटमा अमेरिका र इरानबीच पहिलो चरणको वार्ता भएको थियो। उक्त वार्तामा ठोस सहमति नभएपछि दोस्रो चरणको वार्ता हुन लागेको हो।
हालै अमेरिकी सेनाले अर्को युद्धपोत 'जेराल्ड फोर्ड' मध्यपूर्व क्षेत्रमा तैनाथ गरिसकेको समाचारहरू पनि सार्वजनिक भएको छ।
क्यारेबियन क्षेत्रमा यसअघि नै अमेरिकी युद्धपोत अब्राहम लिंकन तैनाथ छ। कुटनीतिक तवरबाट इरानसँगको विवाद समाधान नभए अमेरिकाले सैन्य हमला अर्को विकल्प हुन सक्छ भनेर बारम्बार धम्की दिँदै आएको छ।
इरानलाई दबाब दिनकै लागि अमेरिकाले अर्को लडाकू विमानबाहक युद्धपोत र ठूलो संख्यामा सेना र हातहतियार मध्यपूर्व क्षेत्रमा तैनाथ गर्ने धम्की दिएको थियो।
इरानले पनि अमेरिकाले सैन्य आक्रमण गरिहाले मध्यपूर्वमा रहेको उसका सैन्य अड्डाहरूलाई निशाना बनाउने चेतावनी दिएको थियो।
यसै क्रममा दोस्रो चरणको वार्ता हुने तय भएको हो।
इरानले अमेरिकासँग दुवै पक्षलाई लाभ हुने गरी परमाणु सहमति गर्ने आफ्नो चाहना बताएको छ।
अमेरिकी दबाबसामू नझुक्ने नीति लिएर इरानले बारम्बार हमला भए प्रत्याक्रमण हुने चेतावनी दिए पनि आइतबार भने लचकता देखाएको रोयटर्सले जनाएको छ।
विदेश मन्त्रालयअन्तर्गत आर्थिक कूटनीति विभागका उपनिर्देशक हमिद घनबारीलाई उद्धृत गर्दै अर्ध-सरकारी समाचार संस्था फर्सले दिगो सहमतिका लागि अमेरिकाले पनि छिटो र उच्च आर्थिक प्रतिफल पाउने क्षेत्रहरूमा लाभ लिनुपर्ने उल्लेख गरेको जनाएको छ।
तेल तथा ग्यास क्षेत्र, संयुक्त खानी लगानी र विमान खरिदसमेत वार्ताको एजेन्डामा रहेको उनले बताएका छन्।
सन् २०१५ मा इरान र विश्व शक्तिबीच भएको परमाणु सम्झौताबाट अमेरिकाले पर्याप्त आर्थिक लाभ नपाएको दाबी पनि तेहरानले गरेको छ। उक्त सम्झौताबाट सन् २०१८ मा फिर्ता हुँदै ट्रम्प प्रशासनले इरानमाथि कडा आर्थिक प्रतिबन्ध पुनः लागू गरेको थियो।
इरानका उपविदेशमन्त्री माजिद तख्त–रावान्चीले प्रतिबन्ध हटाइए उच्चस्तरमा संवर्द्धित युरेनियमको मात्रा घटाउन तयार रहेको संकेत दिएका छन्।
तर, शून्य युरेनियम संवर्द्धनको प्रस्ताव भने अस्वीकार्य हुने उनले स्पष्ट पारेका छन्।
अमेरिकाले इरानभित्रै युरेनियम संवर्द्धनलाई सम्भावित आणविक हतियारतर्फको बाटोका रूपमा हेर्दै आएको छ भने इरानले त्यस्तो उद्देश्य नभएको दाबी गर्दै आएको छ।
अमेरिकाले इरानमाथि आर्थिक दबाब पनि बढाइरहेको छ।
ह्वाइट हाउसमा यसै साता भएको भेटमा ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले चीनतर्फ इरानको तेल निर्यात घटाउने दिशामा काम गर्ने सहमति गरेका थिए।
इरानको ८० प्रतिशतभन्दा बढी तेल निर्यात चीनतर्फ हुने भएकाले उक्त व्यापारमा कमी आए इरानको राजस्वमा ठुलो असर पर्ने विश्लेषण गरिएको छ।