अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ताबारे आफू असन्तुष्ट रहेको बताएका छन्।
शुक्रबार पत्रकारहरूसँग कुराकानीमा ट्रम्पले स्वीट्जरल्याण्डको जेनेभामा हालै सम्पन्न वार्ता र त्यस क्रममा इरानले लिएको अडानबारे आफू असन्तुष्ट रहेको बताएका हुन्।
‘हामीले चाहिएको कुरा दिन उनीहरू तयार छैनन्। त्यसैले म खुशी छैन,’ ट्रम्पले पत्रकारहरूसँग भने।
अमेरिका र इरानबीच भएको वार्तापछि ट्रम्पको यो पहिलो प्रतिक्रिया हो। जेनेभाको वार्ता विना निष्कर्ष टुंगिएको थियो। वार्ता पुनः बस्ने सहमति भने भएको थियो।
उनलाई इरानमाथि सम्भावित आक्रमणबारे पनि पत्रकाहरूले प्रश्न गरेका थिए।
जबाफमा उनले इरानमा सैन्य आक्रमण गर्ने वा नगर्ने विषयमा अन्तिम निर्णय आफूले लिइनसकेको बताएका छन्।
सैन्य बल नै प्रयोग गर्न पनि आफू इच्छुक नरहेको तर कहिलेकाहीँ वाध्य भएर गर्नैपर्ने अवस्था आउने ट्रम्पले बताएका छन्।
‘त्यसो गर्न नपरोस् भन्ने हो। तर कहिलेकाहीँ गर्नैपर्ने अवस्था आउन सक्छ,’ उनले भने।
ट्रम्पको अभिव्यक्तिले मध्यपूर्वमा तनाव चर्किने संकेत दिएको भनेर विश्लेषण गरिएको छ।
संभावित अमेरिकी आक्रमणको आशंकाबीच शुक्रबार विभिन्न देशहरूले इरानमा रहेका आफ्ना नागरिकका लागि चेतावनी जारी गरेका छन्।
बेलायतले तेहरानस्थित आफ्ना दूतावासका केही कर्मचारीलाई अस्थायी रूपमा फिर्ता बोलाउँदै ट्राभल एडभाइजरी जारी गरिसकेको छ।
चीन, भारत र क्यानडासहितका देशहरूले आफ्ना नागरिकलाई सम्भावित द्वन्द्वलाई ध्यानमा राख्दै सकेसम्म छिटो इरान छाड्न आग्रह गरेका छन्।
जर्मनी र फ्रान्सले इसराइल यात्रासम्बन्धी चेतावनी जारी गरेका छन् भने अमेरिकाले इरानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न निर्देशन दिएको छ।
जेनेभा वार्ता निष्कर्षविहीन बनेसँगै कूटनीतिक प्रयास कमजोर बन्दै गएको संकेत देखिएको छ।
अब अमेरिकी प्रशासनले कस्तो कदम चाल्छ भन्ने विषयले क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिको दिशा निर्धारण गर्ने अनुमान गरिएको छ।
तारान्तार वार्ता र छलफलका बाबजुद कुनै पनि सहमति नहुँदा अमरिकाले इरानको छेउछाउ सैन्य उपस्थिति तीव्र गतिमा वृद्धि गरेको छ।
अमेरिकी सेना इरानमा हमलाका लागि तम्तयार भएर बसेको खबर पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसअघि नै सार्वजनिक गरेका थिए।
अमेरिकी युद्धपोत अब्राहम लिंकन एक महिनादेखि नै मध्यपूर्व क्षेत्रमा तैनाथ गरिएको छ।
केही साताअघि मात्रै अमेरिकाले अर्को युद्धपोत जेराल्ड फोर्ड मध्यपूर्व क्षेत्रमा पठाएको थियो। यसले अब्राहम लिंकनसँग समन्वय गर्ने बताइएको छ। दुवै क्यारियर समूहमा विनाशक, क्रुजर र पनडुब्बीहरू समेत संलग्न छन्।
दुइटा लडाकू विमानबाहक युद्धपोतबाहेक बेलायतस्थित अमेरिकी वायुसेनाको इन्धन बोक्ने दर्जनौं ट्यांकर विमान, ५० वटाभन्दा बढी अतिरिक्त लडाकू विमान पनि मध्यपूर्वमा परिचालन गरिएको छ।
प्याट्रियट र थाडजस्ता क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरू क्षेत्रमा सारिएका छन्, जसले इरानी ब्यालिस्टिक क्षेप्यास्त्र अवरोध गर्न सक्ने अमेरिकी अधिकारीहरूको दाबी छ।
अमेरिकी बी–२ बमवर्षक विमानहरू उच्च सतर्कतामा राखिएको अधिकारीहरूले बताएका छन्।
गत वर्षको जुलाईमा मात्रै अमेरिकाले इरानमाथि हमला गरेको थियो। त्यतिबेला उसले इरानको आणविक कार्यक्रमहरूलाई लक्ष्य गरेर तीनवटा आणविक भट्टीमा जिबियू-५७ बम खसालेको थियो।
इरानको आणविक भट्टी कामै नलाग्नेगरी ध्वस्त भएको दाबी अमेरिकाले गरेको थियो।
राष्ट्रपति ट्रम्पले आफ्नो दाबी दोहोर्याउँदै अमेरिकाको हमलाबाट इरानका ती तीनवटा परमाणु भट्टीहरू कामै नलाग्नेगरी ध्वस्त भएको बताएका छन्।
तर पछिल्लो समय इरानले आणविक कार्यक्रमहरू सञ्चालन गरिहेको संकेत दिने भूउपग्रह तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्।
तस्बिरमा केही प्रमुख आणविक स्थलहरूमा कंक्रिट प्रयोग गरी सुरक्षाका संरचनाहरू मजबुत पारिएको देखिएको छ। यसबाट पनि इरानको आणविक कार्यक्रमहरू सञ्चालनमै रहेको भन्ने बुझिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकाले हमला गरे इरानले पनि त्यसको प्रत्युत्तर दिने चेतावनी यसअघि नै सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले दिइसकेका छन्।
खामेनीले आफ्नो एक्स अकाउन्टमा खामेनीले अमेरिकी युद्धपोत समुद्रको पिँधमा देखाइएको एआई तस्बिर सार्वजनिक गर्दै युद्धपोतलाई डुबाउन सक्ने हतियार इरानसँग रहेको दाबी गरेका गरेका थिए।
इरानले मध्यपूर्वमा रहेका अमेरकी सैन्य अड्डामा पनि निशाना बनाउने चेतावनी दिएको छ।