अमेरिका र इसराइलले इरानमा आक्रमण गरेको दोस्रो दिन पनि खाडी मुलुकका केही क्षेत्रहरूमा हमला भएको छ।
संयुक्त अरब इमिरेट्स (युएई) र कतारका केही क्षेत्रमा आइतबार बिहान विस्फोटका आवाजहरू सुनिएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले आफ्ना रिपोर्टरहरूलाई उद्धृत गर्दै युएईको दुबई र कतारको दोहामा ताजा विस्फोटका आवाज सुनिएको भनेर लेखेको छ।
दुबईमा आइतबार बिहान ८:१५ बजे विस्फोटको आवाज सुनिएको थियो।
त्यस्तै कतारको दोहामा बिहान साढे सात बजे विस्फोटका धेरै आवाजहरू सुनिएको भनेर सिएनएनले आफ्ना रिपोर्टरहरूलाई उद्धृत गरेर लेखेको छ।
हमलाबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य क्षति पुगेको र चार जना घाइते भएका छन्। आक्रमणपछि विमानस्थलमाथिको आकाशमा बाक्लो धुवाँको मुस्लो देखिएको पनि सिएनएनले उल्लेख गरेको छ।
घटनापछि विमानस्थल क्षेत्रमा एम्बुलेन्सहरू देखिएका थिए।
युएईको रक्षा मन्त्रालयले इरानबाट शनिबारदेखि प्रहार भएका १९५ ड्रोन निस्तेज पारिएको बताएका छन्। १४ वटा ड्रोन भने जमिनमा खसेको र त्यसले केही भौतिक क्षति भएको मन्त्रालयले बताएको छ।
इरानको हमलापछि संसारकै व्यस्तमध्ये पर्ने दुबई अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि बन्द छ।
आइतबार बिहान इरानले इसराइलमा पनि मिसाइल हमला गरेको छ।
इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले इरानबाट हानिएका मिसाइलहरू इसराइली आकाशमा देखिएको बताएको छ।
इरानबाट मिसाइल हमला भएपछि इसराइली सहरहरूमा साइरन बजाइएको छ। साथै मानिसहरुको मोबाइलमा सुरक्षा सतर्कतासम्बन्धी म्यासेजहरू पनि पठाइएको छ।
शनिबार अमेरिका र इसराइलले इरानमा गरेको संयुक्त हमलामा इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएका थिए।
इरानले अमेरिका र इसराइलले त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै आइतबार बिहानदेखि पुनः मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरेर हमला गरेको हो।