सिरहा-३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार रहेका अशेश्वर यादव पक्राउ परेका छन्।
निर्वाचन मौनअवधिका बेला उनलाई मध्यरातमा प्रहरीले नगदसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरीका कार्यालय सिरहाका डिएसपी रमेश पालका अनुसार गएराति साढे १२ बजे जसपा नेपालका उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको थियो।
नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको गाडीलाई राति करिब १२:३० बजे सिरहाको शिवचोकमा संयुक्त चेकजाँचका क्रममा प्रहरीले रोकेको थियो ।
चेकजाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको डिएसपी पालले जानकारी दिए।
प्रहरीले गाडीबाट मतपत्रसमेत फेला परेको दाबी गरेको छ।
नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज पठाउने तयारी भइरहेको डिएसपी पालले जानकारी दिए।
निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा उम्मेदवारले आचारसंहिता उलंघन गरेमा निर्वाचन आयोग ऐन,२०७३ को दफा २३ बमोजिम १ लाख रुपैयाँ सम्म जरिवाना गर्न वा उम्मेदवारी रद्द गर्न सकिनेछ।