दाङको सबभन्दा पश्चिमको पालिका बबई गाउँपालिकाको एउटा मतदान केन्द्रमा एक मत पनि खसेन।
बबई गाउँपालिका –७ देउती माध्यमिक विद्यालय तल्लो मलै मतदान केन्द्रमा कुल ५३० मतदाता रहे पनि एक जना पनि मत खसाल्न आएनन्।
देउती माविकाका निर्वाचन अधिकृत टेकबहादुर खड्काले एक जना स्थानीय पनि मतदान गर्न नआएको हुँदा आफूहरू रित्ता मतपेटिका बोकेर फर्किन परेको बताए।
‘हामी बिहान सात बजेदेखि बेलुका पाँच बजेसम्म मतदाता पर्खेर बस्यौं,’ मतदान अधिकृत खड्काले भने, ‘तर, एक जना स्थानीय मतदाता पनि मत खसाल्न आउनुभएन।’
यो निर्वाचन क्षेत्रमा ६ जना कर्मचारी र ९ जना सुरक्षाकर्मी निर्वाचन गराउनका भनेर फागुन १८ गते नै पुगेका थिए। सुरक्षाकर्मी नौ जनामध्ये ३ जना नेपाल प्रहरी र ६ जना निर्वाचन प्रहरी थिए।
निर्वाचन अधिकृत खड्काले स्थानीय कोही पनि मतदान गर्न नआएको भए पनि चार जना कर्मचारी आफैले समानुपातिक तर्फको मतदान गरेको बताए।
‘निर्वाचन गराउन खटिएका चार जना कर्मचारी साथीहरूले मात्रै समानुपातिकतर्फ मत खसाल्नुभयो,’ निर्वाचन अधिकृत खड्काले भने, ‘तर, यहाँ स्थानीय एक जना मतदाता पनि मतदान गर्न आउनु भएन। हामी रित्ता बाकस बोकेर फर्किन बाध्य भयौं।’
बबई–१ जनता आधारभूत विद्यालय जिल्ला मतदान केन्द्रमा पनि नगन्य मत मात्रै खस्यो। त्यहाँका निर्वाचन अधिकृत चिरिञ्जीवी खड्काका अनुसार ६८२ मतदाता रहेको जनता आबि जिल्लामा जम्मा १० जनाले मात्रै मतदान गरेका छन्।
स्रोतका अनुसार सानो जिल्ला भन्ने एउटा गाउँका दश जना स्थानीयले मात्रै आएर मतदान गरेका हुन्। सानो जिल्ला गाउँ मध्यवर्ती क्षेत्रमा नपर्ने ठाउँ रहेको र त्यहाँका स्थानीयलाई नेपाली सेनाले गाडीमा राखेर मतदानका लागि ल्याएको स्रोतले बताएको छ। निर्वाचन अधिकृत खड्काले निर्वाचनका लागि खटिएका थप ६ जना कर्मचारीले समानुपातिक तर्फको मतदान गरेको बताए।
मलै निकुञ्ज पीडित संघर्ष समितिका सचिव रोबर घर्तीले यसअघि धेरै पटक आफूहरूले मतदान गरे पनि कसैले पनि आफूहरूका कुरा नसुनेको हुँदा यो पटक सल्लाह गरी कोही पनि भोट हाल्न नगएको बताए।
‘हामीलाई यहाँ बाघले बारम्बार लखेटिरहेको छ,’ उनले भने, ‘ बँदेल, हरिन जस्ता वन्यजन्तुले हाम्रो सबै खेती स्वाहा पारिदिन्छन्। यहाँ हामी कसरी बाँच्ने?’
वरिपरि पहाड र बीचमा गाउँ रहेको मलैबासी वडा कार्यालय चरकमटिया जानका लागि पनि सात/आठ किलोमिटर हिँड्नुपर्ने बाध्यता रहेको उनले गुनासो गरे।
‘हामी बोट हाले पनि मलैबासी नहाले पनि मलै बासी,’ उनले भने, ‘योभन्दा पहिला धेरै पटक भोट हाल्यौं तर हाम्रो लागि राज्यले केही गरेन। हामीलाई राज्य भएको अनुभूति पनि हुन सकेन। त्यही भएर सबैले भोट नहाल्ने निर्णय गरेका हौं।’
तल्लो मलै देख्नलाई ठाउँ राम्रो भए पनि वन्यजन्तुका कारण बस्नलाई कठिन ठाउँ भएको सचिव घर्तीले बताए।
‘तपाईं यहाँ आएर एक रात बास बस्नुहोस् रातभर बाघ कराएको सुन्नु हुनेछ,’ सचिव घर्तीले भने, ‘मेला पात गएका छोराछोरी घर फर्किने हुन् कि होइनन् भन्ने चिन्ता हुन्छ। यस्तो ठाउँमा मानिस कसरी बस्ने?’
संघर्ष समितिका सचिव घर्तीले राज्यले हजारौं बाघ पाले पनि आफूहरूको विरोध नहुने तर बाँच्न पाउने अधिकार भने सुरक्षित हुनुपर्ने उनले माग गरे।
सचिव घर्तीले बाँके राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्र भएकै कारण मलैमा मासिन बस्न र बाँच्न सकस भएको हुँदा आफूहरूलाई अन्यत्र स्थानान्तरण नगर्दासम्म योभन्दा पछि आउने चुनावमा पनि मतदान नगर्ने चेतावनी दिए।
‘हामीले हाम्रो यहाँको जग्गा बराबरको जमिन अन्यत्र जहाँ दिए पनि हुन्छ त्यहाँ हामी जान्छौं भनेका छौं,’ सचिव घर्तीले भने, ‘तर, हाम्रो माग कसैले सुनेनन्। हामीलाई राज्य विहीनताको महसुस भयो। त्यसैले हामीले सल्लाह गरी भोट नहाल्ने निर्णय गरेका हौं।’
आफू दाङकै सबभन्दा पश्चिम कुनो अर्थात् दाङको कर्णाली उपनामले चिनेन ठाउँमा यसअघिसम्म राजीखुसी बस्दै जीवनयापन गर्दै आएको भए पनि पछिल्लो समय राष्ट्रिय निकुञ्ज विस्तारसँगै हिस्रक जनावर बाघ, चितुवाका कारण कहिले मर्नुपर्ने हो भन्ने मनोविज्ञानका साथ बस्नुपरेको सचिव घर्तीले बताए।
‘हामीलाई राज्य बिहिनताको महसुश भयो ,’ उनले भने ‘ हामीलाई राज्यले बाघको आहारा बनाउन खोजेको आभास हुँदै गएको छ ।’
दाङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका दीपक गिरी, नेकपा (एमाले) का घनश्याम पाण्डे, नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्की (राजेश), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कमल सुवेदी, नेकपा (माओवादी) का बलबहादुर वली (सितल) लगायत उम्मेदवार छन्।