रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका समकक्षी मशुद पेजिस्कियनसँग टेलिफोन वार्ता गरेका छन्।
पुटिनले एक सातामै दोस्रो पटक इरानी राष्ट्रपति पेजेस्कियनसँग कुराकानी गरेका हुन्।
यसअघि पुटिनले मार्च ६ मा पेजेस्कियनसँग टेलिफोन वार्ता गरेका थिए।
त्यतिबेला उनले अमेरिका र इसराइलले सर्वोच्च नेता आयातोल्लाह अली खामेनी, इरानी शीर्ष अधिकारी र जनताको हत्या गरेको घटनाको निन्दा गरेका थिए। साथै हमलामा मारिएकाहरूप्रति पुटिनले श्रद्धाञ्जली व्यक्त गरेका थिए।
पुटिनले मंगलबार पुनः पेजेस्कियनसँग टेलिफोन संवाद गरेको क्रेमलिनलाई उद्धृत गरी रूसी समाचार संस्था तासले लेखेको छ।
क्रेमलिनका अनुसार दुई नेताबीच मध्यपूर्वको पछिल्लो अवस्थाबारे छलफल भएको थियो।
इरानमाथि गरेको सैन्य आक्रमणपछि उत्पन्न परिस्थितिबारे उनीहरूले विचार आदानप्रदान गरेका थिए। पुटिनले द्वन्द्वलाई यथाशीघ्र कम गर्नुपर्ने कुटनीतिक माध्यमबाट समस्या समाधान खोज्नुपर्ने धारणा पुन दोहोर्याएका छन्।
इरानी राष्ट्रपति पेजेस्कियनले पनि इरानलाई रूसले दिएको सहयोगप्रति आभार व्यक्त गरेका छन्। उनले विशेषगरी मानवीय सहायताका लागि रूसलाई धन्यवाद दिएको तासले जनाएको छ।
पुटिनले इरानमा अमेरिका र इसराइलको हमलापछि खाडी मुलुकका नेताहरूसँग पनि कुराकानी गरेका थिए। मार्च ९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि रूसी राष्ट्रपति पुटिनसँग कुराकानी गरेका थिए।