नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद राजेन्द्र बजगाईंले पार्टी परित्याग गरेका छन्। पछिल्लो समय नेतृत्वसँग रूष्ट रहेका उनले आइतबार सामाजिक सञ्जाल एक्समार्फत् पार्टीमा नरहेको घोषणा गरेका हुन्।
‘अन्ततः कांग्रेसमा बसिएन, सज्जनका हातमा गोबर छ, पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन्, अनुहारमा सम्भावना बोकेका सोझा नागरिकले पछाडि मात्र सत्य थाहा पाउनेछन्,’ उनले असन्तुष्टि पोख्दै लेखेको छन्।
उनले किसुनजीका सदस्यता पुनःस्थापन गर्ने निर्णयप्रति खेद व्यक्त गरेको बताएका छन्।
‘त्यो फेरिफेरि भर्न किन पथ्र्यो र? त्यसको औचित्य छैन थिएन नि,’ उनको असन्तुष्टि छ।
उनले कांग्रेसमा संस्कार, इतिहास र प्रगतिपथ अनिश्चिततामा हराएको, विचलित मानसिकताले ग्रस्त मानिसहरूको भीड बनेको आरोप लगाएका छन्। र, यस्तो पार्टीमा नबस्ने निर्णय गरेको पनि उल्लेख गरेका छन्।
‘विशेष वृन्दहरू चरणबद्ध रूपमा पार्टी कब्जा अभियानमा लागेका छन्,’ उनको भनाइ छ।
उनले अगाडि लेखेका छन्, ‘उनीहरूले यसरी खेल खेलिरहेका छन्। सके प्रभावको कोर्रा हानेर आधिकारिकता लिने, नसके अप्ठ्यारो ढुंगाको पर्खाल खडा गरेर तथ्यांक संकलनको आडमा भित्री षड्यन्त्रमार्फत कांग्रेसमाथि नियन्त्रण जमाउने गरी सदस्यताको ‘डिएनए’ बनाउने।’
उनले कांग्रेस नेतृत्वले अघि सारेको सदस्यतासम्बन्धी नीतिप्रति असन्तुष्टि जनाएका छन्।