अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउने भनेको नाकाबन्दीलाई इरानले गैरकानूनी भनेको छ।
अमेरिका र इरानबीच पाकिस्तानमा भएको वार्ता असफल भएपछि ट्रम्पले सोमबारदेखि नै लागू हुने गरी इरानमाथि नाकाबन्दी लगाउने घोषणा गरेका छन्।
अमेरिका र इसराइलले युद्ध सुरू गरेपछि इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेर आफ्नो अनुमतिमा मात्रै सो जलमार्ग प्रयोग गर्न दिइरहेको छ।
वार्ता असफल भएपछि जबाफमा अमेरिकाले पनि हर्मुजमा नाकाबन्दी लगाउने ट्रम्पले घोषणा गरेका हुन्।
हर्मुज प्रयोग गरी इरानी बन्दरगाहमा जाने र त्यहाँबाट फर्कने सबै देशका जहाजमा नाकाबन्दी लगाउने अमेरिकाले घोषणा गरेको हो। हर्मुज हुँदै अन्य देशमा जाने समुद्री जहाजहरूलाई भने अवरोध नगरिने अमेरिकाले जनाएको छ।
ट्रम्पको सो नाकाबन्दीलाई इरानले गैरकानूनी भन्दै त्यसको प्रतिकार गर्ने दृढता व्यक्त गरेको छ।
अमेरिकाले नाकाबन्दी लगाए खाडी राष्ट्रका बन्दरगाहहरूमा आक्रमण गर्ने इरानले धम्की दिएको भनेर ब्लुमबर्गले लेखेको छ।
अमेरिका र इसराइलले फेब्रुअरी २८ मा इरानमाथि संयुक्त आक्रमण गरेका थिए।
केही दिनअघि अमेरिका र इरानबीच दुई हप्ते युद्धविराम भएको थियो। युद्धको स्थायी अन्त्य गर्न अमेरिका र इरानबीच पाकिस्तानमा शनिबार भएको वार्ता निष्कर्षविहीन भएको छ।
शनिबार दिउँसोदेखि आइतबार बिहान ५ बजेसम्म चलेको वार्ता निष्कर्षविहीन भएको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन्।
अमेरिकी वार्ता टोलीको नेतृत्व गरेका भान्सले इरानले अमेरिकी प्रस्ताव अस्वीकार गरेको पनि जनाएका छन्।
'उनीहरू हाम्रो सर्त मान्न तयार देखिएनन्,' उपराष्ट्रपति भान्सले भने।
वार्ताका सर्तहरू तत्काल सार्वजनिक नगरिने पनि भान्सले बताएका छन्।
'तर तेहरानले परमाणु हतियार र त्यसका लागि आवश्यक हतियार विकास गर्दैन भन्ने हामीलाई इरानबाट स्पष्ट र ठोस प्रतिबद्धता चाहिन्छ,' उनले भने।
अर्कोतर्फ इरानले पनि अमेरिकाले ज्यादै कडा र अव्यावहारिक माग राखेको दाबी गरेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)