राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज केन्द्रीय कार्यालय च:मतिमा बस्यो।
बैठकले भूपदेव शाहलाई महामन्त्री चयन गर्ने, लेबी रकम परिमार्जन गर्नेलगायत विभिन्न निर्णयहरू गरेको छ।
उक्त निर्णयहरू प्रवक्ता मनिष झाले सार्वजनिक गरेका छन्।
लगत्तै पत्रकारहरूले प्रवक्ता झालाई गृहमन्त्री सुधन गुरूङको सम्पत्ति स्रोतबारे आइरहेका विषयमा प्रश्नहरू सोधेका थिए।
एक जना पत्रकारले गृहमन्त्रीका विषयमा रास्वपाका नेताहरू बोल्न नसक्ने हो भनेर सोधे। त्यसको जबाफमा प्रवक्ता झाले भने, ‘सबै कुरा प्रस्ताव, छलफल, निष्कर्ष र निर्णय यी चार तहको हुन्छ। जुन कुराको प्रस्ताव र छलफल नै यथष्ट भइसकेको छैन भने निर्णय सुनाउँदै गर्न हुन्छ र?’
कोहीले बैठकमा यस विषय उठाएको भए पार्टीका नेताहरूले जबाफ दिन जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।
‘रिपोर्टिङमा उठाउनुभएको भए नेता तथा पदाधिकारी यसको जबाफ दिनका लागि जिम्मेवार हुनुपर्थ्यो,’ उनले भने, ‘प्रसंग नआउँदै गर्दा सम्भवत आवश्यक छलफल बाँकी छ, समय बाँकी छ। अहिलेका लागि यसलाई प्रस्तावका रूपमा भन्दा पनि छलफल बाँकी नै छ भन्नेमा लिऔं, यसमा प्रश्न उठाउन नपाइने भन्ने होइन, नेताहरूसँग सुझबुझ, प्रक्रिया र यसअघि गरिएका नजिर पनि छ। हिजो नै पार्टी सभापतिले अहिले नै मूल्यांकन गरेर निष्कर्षमा पुग्ने समय आएको छैन है भनेर बोल्नुभएको छ।’
उनले गृहमन्त्रीका विषयमा व्यक्तिगत रूपमा आफूले कुनै टिप्पणी नगर्ने पनि बताएका थिए।
यसपछि प्रवक्ता झालाई पत्रकारहरूले श्रम मन्त्री रहेका बेला दीपककुमार साहलाई यी चरणहरू पार नगरी हटाइएको कुरा उठाएका थिए। यसको जबाफमा प्रवक्ता झाले त्यस्तो होइन भनेका थिए।
जति ठूलो पार्टी भयो त्यति सचेत हुनुपर्ने अवस्था रहेको पनि उनले पत्रकारहरूलाई बताएका थिए।
उनकाअनुसार केन्द्रीय समिति बैठकका एजेन्डा केही दिनअघि नै केन्द्रीय सदस्यहरूलाई पठाइएको थियो। ती एजेन्डामा विविध पनि थियो।
रास्वपाका एक केन्द्रीय सदस्यका अनुसार गृहमन्त्री सुधन गुरूङका विषयमा आजको केन्द्रीय समिति बैठकमा कसैले कुरा उठाएन।
‘गृहमन्त्रीका विषयमा एक शब्द पनि केन्द्रीय समितिमा कसैले उठाएन,’ ती केन्द्रीय सदस्यले सेतोपाटीसँग भने।