नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विगत वर्ष नेपाली कम्युनिस्ट आन्दोलनले असाधारण धक्का खानु परेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७७ औं दिवसका सन्दर्भमा शुभकामना दिँदै नेता ज्ञवालीले यसैलाई आधार बनाएर केही व्यक्तिहरू आन्दोलनको भविष्य समाप्त भएको घोषणा गर्न थालेको टिप्पणी पनि गरेका छन्।
‘विचारधाराको मृत्यु र इतिहासको अन्त्यको घोषणा गर्ने फुकुयामा अचेल आफ्ना भविष्यवाणीप्रति पछुताउँदैछन्। हाम्रा फुकुयामाहरूका भविष्यवाणी पनि व्यर्थ साबित हुनेछन्, किनभने कम्युनिस्ट आन्दोलनको स्थापना, अस्तित्व र भविष्य कसैको व्यक्तिगत इच्छाबाट होइन, समाजको ऐतिहासिक विकासक्रम, वर्ग संरचना र रूपान्तरणको वस्तुगत आवश्कताबाट निर्दिष्ट छ,’ उनले भनेका छन्।
गत निर्वाचनमार्फत् व्यहोर्नुपरेको वर्तमान धक्का र चुनौतीलाई सामान्य रूपमा लिने छुट एमालेलाई नभएको उनको भनाइ छ।
‘यसले हामीबाट निर्मम आत्मसमीक्षा, संरचनागत पुनर्संरचना, नयाँ डायनामिक्सलाई बुझ्न र सामना गर्न सक्ने नयाँ अन्तरदृष्टि र नयाँ उर्जाको माग गरिरहेको छ। ७७ औं स्थापना दिवसको सन्दर्भमा आउनुहोस् संकल्प गरौं– हामी यी अभिभारा पूरा गर्दै आन्दोलनलाई नयाँ जीवन दिनेछौं,’ उनले भनेका छन्।