अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अनिश्चितकालका लागि थप्ने घोषणा गरेपछि इरानी पक्षले त्यसप्रति गम्भीर शंका व्यक्त गरेको छ।
इरानी संसदका सभामुख मोहम्मद बागेर गालीबाफका सल्लाहकार मेहदी मोहम्मदीले ट्रम्पले घोषणा गरेको अनिश्चितकालीन युद्धविरामले 'केही काम नलाग्ने' भनेर प्रतिक्रिया दिएका छन्।
'हार्ने पक्षले सर्त तय गर्न मिल्दैन। नाकाबन्दी जारी राख्नु पनि बमबारीभन्दा फरक होइन। यसको जबाफ दिन्छौं,' गालिबाफका सल्लाहकार मोहम्मदीले भनेका छन्।
उनले नाकाबन्दीको जबाफ सैन्य कारबाहीबाट दिइने बताएका छन्। उनले इरानमा अचानक आक्रमणको तयारीका लागि ट्रम्पले युद्धविराम अवधि बढाएको दाबी गरेका छन्।
इरानको अर्धसरकारी समाचार संस्था तस्निमले युद्धविराम अवधि लम्ब्याउन इरानले कुनै अनुरोध नगरेको बताएको छ।
एकतर्फी रुपमा युद्धविराम घोषणा गर्नुले विभिन्न संकेत गरेको तस्निमको विश्लेषण छ।
पहिलो संकेत ट्रम्प युद्धबाट बाहिरने बाटो खोजेको हुन सक्ने तस्निमको दाबी छ।
'अमेरिकाले युद्धबाट अपेक्षित उपलब्धि हासिल गर्न नसकेका कारण ट्रम्प युद्धबाट बाहिरिने बाटो खोजिरहेका हुन सक्छन्,' तस्निमले लेखेको छ।
दोस्रो, ट्रम्पले झुक्याउने रणनीति लिएको हुनसक्ने विश्लेषण छ।
तत्कालका लागि युद्धविराम अवधि लम्ब्याएको घोषणा गर्ने र पछि सहयोगी देशहरूसँग मिलेर एक्कासि हमला गर्ने रणनीति हुनसक्ने शंका व्यक्त गरिएको छ।
तेस्रो सम्भावनामा अमेरिका युद्धबाट पछि हटेर इसराइललाई मात्र मैदानमा छोड्न सक्ने विश्लेषण गरिएको छ। तर, यस्तो अवस्थामा पनि अमेरिका पूर्ण रूपमा बाहिरिन नसक्ने भन्दै चेतावनी दिइएको छ।
तस्निमले अमेरिकी नौसैनिक नाकाबन्दी जारी रहनु नै द्वन्द्वको निरन्तरता भएको बताउँदै नाकाबन्दी कायम रहेसम्म स्ट्रेट अफ हर्मुज नखुल्ने र आवश्यक परे बल प्रयोग गरेर नाकाबन्दी तोड्ने इरानको तयारी रहेको दाबी गरेको छ।
साथै, अमेरिकाले इरानमाथि ‘युद्धको छायाँ’ कायम राख्दै त्यहाँको अर्थतन्त्र र राजनीतिक अवस्थालाई अस्थिर बनाइराख्ने रणनीति अपनाइरहेको पनि आरोप लगाइएको छ।
ट्रम्पले बुधबार युद्धविराम अवधि सकिनै लाग्दा अनिश्चितकालका लागि युद्धविराम गरिएको घोषणा गरेका थिए।
पाकिस्तानको अनुरोधमा युद्धविराम लम्ब्याइएको पनि उनले बताएका छन्। अब वार्ता टुंगोमा नपुग्दासम्म युद्धविराम जारी रहने भनेका छन्।
यद्यपि हर्मुजमा नाकाबन्दी जारी राख्न र भविष्यका लागि तयारी अवस्थामा रहन भने ट्रम्पले सेनालाई निर्देशन दिएका छन्।