एफबीआई निर्देशक कास पटेलले 'द एटलान्टिक' पत्रिका र संवाददाता सारा फिट्जप्याट्रिक विरुद्ध मानहानीको मुद्दा दर्ता गरेका छन्। निर्देशक पटेललाई मद्यपानको समस्या रहेको आरोप लगाउँदै लेख प्रकाशित गरेपछि उनले यो कदम चालेका हुन्।
सोमबार 'डिस्ट्रिक्ट अफ कोलम्बिया' को अमेरिकी जिल्ला अदालतमा दायर गरिएको उक्त मुद्दामा अप्रिल १७ मा प्रकाशित सो लेखलाई उद्धृत गरिएको भनेर अमेरिकी अनलाइन पोलिटिकोले लेखेको छ।
सो लेखमा पटेललाई 'अत्यधिक मद्यपान गर्ने र बिनाजानकारी कार्यालयमा अनुपस्थित हुने' बानी भएको लगायतका अन्य व्यवहारिक समस्याहरू रहेको दाबी गरिएको छ।
मुद्दामा फिट्जप्याट्रिकको रिपोर्टिङ 'निर्देशक पटेलको प्रतिष्ठामा आँच पुऱ्याउने र उनलाई पदबाट हटाउन बाध्य पार्न' द एटलान्टिकको निरन्तरको प्रयासको एक हिस्सा भएको तर्क गरिएको छ।
उता 'द एटलान्टिक' ले आफ्नो रिपोर्टिङको बचाउ गरेको छ। एटलान्टिकले भनेको छ, 'हामी कास पटेलका बारेमा गरिएको हाम्रो रिपोर्टिङमा अडिग छौं र यस आधारहीन मुद्दाको विरुद्धमा एटलान्टिक र हाम्रा पत्रकारहरूको कडा रूपमा बचाउ गर्नेछौं।'
करिब दुई दर्जन अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै लेखिएको सो लेखमा पटेलको 'स्पष्ट देखिने गरी मात्ने र विना जानकारी अनुपस्थित रहने गरेको' खुलासा गरिएको छ। लेखमा निर्देशक प्रायः 'बाहिर रहने वा सम्पर्कविहीन हुने गरेका कारण अनुसन्धानलाई अगाडि बढाउन आवश्यक समय-संवेदनशील निर्णयहरूमा ढिलाइ हुने गरेको' र पटेल 'आफ्नो जागिर जोखिममा रहेको कुरालाई लिएर निकै चिन्तित रहेको' दाबी गरिएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)