नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सरकार गठनको केही समय भइसक्दा पनि जनताका चाहना र आकांक्षाहरू पूरा हुने संकेत नदेखिएको उनको दाबी छ।
बुधबार नेपाली कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारका सामु समाजवादको दिशामा अगाडि बढ्ने कि पुरानै बाटोमा हिँड्ने भन्ने गम्भीर प्रश्न खडा भएको बताए।
देशलाई विकास र परिवर्तनको बाटोमा लैजान कम्युनिस्टहरूले नै पहलकदमी लिनुपर्ने तर वर्तमान अवस्थाले निराशा मात्रै जन्माएको उनको भनाइ छ।
नेता नेपालले राजनीतिमा व्याप्त बेथितिहरू अन्त्य गर्न सरकारका प्रयासहरू पर्याप्त नभएको उल्लेख गरे।
उनले भने, ‘मर्निङ शोज द डे भनिन्छ, तर सरकारको लक्षण राम्रो देखिएको छैन। समाजमा विद्यमान असमानता, भेदभाव र अन्याय अन्त्य गर्ने सवालमा सरकार अहिलेसम्म मौन जस्तै देखिन्छ। जनतामा कुनै उत्साह र सन्तुष्टि पाउन सकिँदैन। हामीले हेरिरहेका छौं, जनताले कस्तो परिवर्तन खोजेका छन्। जतिसुकै ठूला गफ हाँके पनि जनताको मनोभावना बुझ्न नसक्ने सरकार सफल हुन सक्दैन।’
उनले आफ्नो पार्टीले देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन संघर्ष जारी राख्ने र सरकारको गतिविधिलाई नजिकबाट अनुगमन गरेर अगाडि बढ्ने रणनीति रहेको संकेत गरे। –न्युज एजेन्सी नेपाल