नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूहरू सत्तामा रहँदा गरेको कमजोरी र विकृतिको सजाय जनताले निर्वाचनमार्फत दिएको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले जनताले सुध्रिने अवसर दिएको बताए।
उनले सत्तामा रहँदा पार्टीभित्र फोहोर थुप्रिँदै गएको स्वीकार गरे।
उनले जनताले घृणा गरेको नभई फोहोर जम्मा भएकोले नुहाईधुवाई गरेर फर्कन सवक सिकाएको उल्लेख गरे।
उनकाअनुसार हाल देखिएको राजनीतिक धक्कालाई गम्भीर आत्मसमीक्षा गरेर सुधारको अवसरका रूपमा लिनुपर्ने बताए। यी अनुभवबाट पाठ सिकेर अगाडि बढ्न सके कम्युनिस्ट आन्दोलन अझ सुदृढ हुने उनको भनाइ छ।
उनले भने, ‘अहिले क्षणिक रूपमा कम्युनिस्ट आन्दोलनले धक्का खाएको देखिएको छ, त्यसबाट हामीले शिक्षा लिनुपर्छ। यी धक्काहरू जो खाइन्छ, बेलाबेलामा। ती हामीभित्र जम्मा भएका फोहोर मैला सफा गर्ने अवसर पनि हो। सायद हामी सत्तामा बस्दा, कुर्सीमा बस्दाबस्दा धेरै फोहोरहरू हामीभित्र जम्मा हुँदै गएको थियो। अहिले जनताले हामीलाई घृणा गरेको होइन, जनताले हामीलाई नुहाईधुवाई गरेर आऊ भनेर सबक सिकाएको हो। त्यसकारण हामीले फोहोरमैला सफा गर्ने अवसर र त्यसलाई सुधार गर्ने अवसरको रूपमा पनि यसलाई लिनुपर्छ।’
उनले कम्युनिस्टहरूमा गल्ती स्वीकार गर्ने र सुधार्न सक्ने क्षमता रहेको बताए। – न्युज एजेन्सी नेपाल