नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी असोजसम्म पार्टीको महाधिवेशन गर्ने बताएका छन्।
नेकपा स्थापना दिवसका अवसरमा बुधबार पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले पार्टी एकताको ६ महिनाभित्र महाधिवेशन गर्ने भनिएको र आगामी असोजसम्म त्यो सम्पन्न हुने बताएका हुन्।
गत कात्तिकमा तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित १० वामपन्थी घटकहरूबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो।
प्रचण्डले पार्टी नेतृत्वमा गतिशील युवाहरूलाई प्राथमिकता दिने पनि बताएका छन्।
'नयाँ युवाहरूलाई प्राथमिकताका साथ आउने महाधिवेशनसम्म जाँदा तलदेखि माथिसम्म युवा र गतिशील नेतृत्वलाई प्राथमिकता दिने, हामी पुराना पुस्ताकाले पनि कुनै न कुनै भूमिका भए पनि अहिलेसम्म खेलेको रूप र भूमिकालाई नयाँ रूप र भूमिकामा प्रस्तुत गर्ने गरी छलफल गर्दै छौं र हामी महाधिवेशन ६ महिनाभित्र हामीले भनेका छौं,' उनले भने।
उनले पार्टी अहिले आत्ममन्थनमा रहेको पनि बताए। पार्टी बैठकमा आफूलाई लागेको विचारहरू खुलस्त रूपमा राखेको पनि उनले बताएका छन्।
'पहिला आफ्नै पार्टीका कमीकमजोरी सच्याएर यसलाई पुनर्गठन गर्ने, सकेसम्म आउने असोजभित्र महाधिवेशन सम्पन्न गर्ने र नयाँ ढङ्गले यो पार्टीलाई पुनर्गठन गर्ने प्रक्रिया शुरु भएको छ,' उनले भने।
फेरिएको जटिल परिस्थितमा वामपन्थी र कम्युनिस्ट आन्दोलनबीच समग्र रूपान्तरण र पुनर्गठन आवश्यक रहेको पनि उनले बताए।
त्यसका लागि देशमा छरिएर रहेको विभिन्न कम्युनिस्ट घटकहरू एउटै केन्द्रमा ल्याउन आफूले पहल सुरू गरिसकेको उनको भनाइ छ।