नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले चुनावमा गम्भीर धक्का खाएको भन्दै अब विचार, संगठन, आचरण, कार्यशैली सबै हिसाबले रुपान्तरित भएर जनतामा जाने बताएका छन्।
नेकपा स्थापनाको ७७ औं वर्षगाँठका सन्दर्भमा पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा उनले निर्मम भएर चुनावको समीक्षा गर्ने बताए।
‘म यहाँहरूलाई भन्न चाहन्छु– नेकपा एमाले रूपान्तरित भएर विचारमा, संगठनमा, आचरण तथा कार्यशैलीमा सबै हिसाबले रुपान्तरित भएर, जनताले हामीलाई आलोचना गरेका छन् भने जनताको आलोचना स्वीकार गरेर जनतालाई शीरोपर गरेर हामी जनताका माझमा फर्कनेछौं,’ उनले भने।
पछिल्लो एक दशकमा संविधान सभाबाट संविधान निर्माण गर्ने कामको अगुवाइ एमालेले गरको र यसबीचमा झन्डै दुईतिहाइ बहुमतको शक्ति आर्जन गरेको स्मरण गर्दै पछिल्लो निर्वाचनमा कमजोर अवस्थामा किन पुग्यौं भनेर समीक्षा हुनुपर्ने उनले बताए।
‘हामीले त्यो सफलता किन प्राप्त गर्यौ? यो धक्का, यो असफलता र यो क्षति किन बेहोर्नुपर्यो? यसको हामीले निर्ममतापूर्वक समीक्षा गर्नेछौं। आत्मसमीक्षा गर्नेछौं। यसका कारणहरू केलाउने छौं,’ उनले भने।
एमालेको यो पराजयको लागि पार्टीको आफ्नै कमजोरीहरु के छन्, नेतृत्वपंक्तिले त्यसलाई पनि ख्याल गर्ने उनले बताए।
‘बाह्य कारणहरू के छन्? आन्तरिक कारणहरू के छन्? पार्टी भित्रकै कारणहरू के छन्? त्यो चिजको पनि हामीले समिक्षा गर्नेछौं,’ उनले भने।