सरकारले काठमाडौंको महाराजगञ्जस्थित ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकै कायम रहने निर्णय गरेको छ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति कार्यालयको नाममा कायम गर्ने यसअघिको निर्णय उल्टाउँदै उक्त जग्गा प्रहरी प्रतिष्ठानकै कायम गरेको हो।
‘२०७५ भदौ १ को निर्णय बमोजिम महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूरै जग्गा ११४ रोपनी ३ आना राष्ट्रपति कार्यालय नाममा रहने निर्णय भएकोमा पूर्ववत रूपमा प्रहरी प्रशिक्षण प्रतिष्ठानकै नाममा कायम रहने निर्णय भएको छ,’ सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषदका निर्णय सुनाउँदै भने।
साथै सरकारी निकायमा भएका सफ्टवेयर तथा सूचना प्रविधि विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि भएको छ।
साथै पानी तथा ढल व्यवस्थापनका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर ११५ मिलियन सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतामा तथा अन्य सम्बन्धित दस्तावेजलाई अन्तिम रुप दिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको उनले बताए।