काठमाडौं महानगरपालिकाले खोला–नदी किनारमा बस्दै आएको सुकुम्बासी बस्तीमा माइकिङ गर्न थालेको छ।
बिहीबार साँझदेखि महानगर प्रहरी बलले सुकुम्बासी बस्ती क्षेत्रमा माइकिङ गर्न थालेको हो।
अहिलेलाई तीन वटा स्थानमा जानकारी गराउन थालिएको महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए।
'थापाथली, मनोहरा र सिनामंगल क्षेत्रमा माइकिङ गर्न पठाइएको छ,' उनले भने।
महानगर प्रहरीले माइकिङ गर्दा यथाशीघ्र बस्ती छोडेर सार्वजनिक स्थान खाली गर्न भनिएको उनले बताए।
'यथाशीघ्र बस्ती छाडेर सार्वजनिक स्थान खाली गरिदिन भनेका छौं। २४ घण्टाभित्र छाड्न भनेका छौं,' उनले भने, 'वैशाख १२ गते बिहान ६ बजेदेखि घर टहराहरू हटाउने र अतिक्रमित जग्गाहरू खाली गराउने काम हुनेछ।'
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले पनि अहिले महानगर बलले माइकिङ गर्न थालेको र नेपाल प्रहरीले सुरक्षा दिएको बताए।
'महानगरले माइकिङ थालेको छ। प्रहरी सुरक्षाको दृष्टिकोणले खटिएको छ,' उनले भने।
प्रधानमन्त्री बालेन शाहले बुधबार सुरक्षा प्रमुखहरूलाई शनिबार र आइतबार सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका थिए।
सुकुम्बासी बस्ती हटाउने सुरूआत काठमाडौं उपत्यकाबाटै गर्न निर्देशन दिएका थिए।