काठमाडौं महानगरपालिकाले खोला–नदी किनारमा बस्दै आएको सुकुम्बासी बस्तीहरूमा माइकिङ गर्न थालेको छ।
बिहीबार साँझदेखि सुरूमा तीन वटा स्थानमा जानकारी गराउन थालिएको महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए।
उनका अनुसार थापाथली, मनोहरा र सिनामंगल क्षेत्रमा माइकिङ गर्न पठाइएको छ।
महानगर प्रहरीले माइकिङ गर्दा ६ वटा बुँदा भनेको छ।
पहिलो, अवैध रूपमा बनाइएका घर–टहराहरू वैशाख ११ गते साँझ ७ बजेभित्र खाली गर्नू।
दोस्रो, घर–टहरामा भएका आफ्ना सरसामान, लत्ता कपडा, घरपालुवा, पशुपंक्षी सुरक्षित स्थानमा तत्काल सार्ने व्यवस्था गर्नू।
तेस्रो, घर–टहराहरूमा बसोबास गर्ने अपांगता भएका, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा एवं बिरामीहरूलाई प्राथमिकता दिई अन्यत्र सार्नू। यसका लागि काठमाडौं महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत मद्दत लिनू।
चौथो, वैशाख १२ गते बिहान ६ बजेदेखि घर–टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गरिनेछ। यो काममा बाधा पुर्याएमा कानुन बमोजिम कारबाही गरिनेछ।
पाँचौं, सम्बन्धित मन्त्रालय तथा अन्य अधिकार प्राप्त निकायबाट वास्तविक भूमिहीन सुकुम्बासीहरूको लगत लिने र स्क्रिनिङको काम तत्कालै सुरू गरिनेछ।
र, छैटौं, १० देखि १५ दिनभित्रै यकिन भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्ने तयारी छ।
महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीका अनुसार कसैले सूचना अटेर गरेमा संयुक्त कारबाही गर्दा भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफै हुनुपर्नेछ पनि भनिएको छ।
'यथाशीघ्र बस्ती छाडेर सार्वजनिक स्थान खाली गरिदिन भनेका छौं। २४ घण्टाभित्र छाड्न भनेका छौं,' उनले भने, 'वैशाख १२ गते बिहान ६ बजेदेखि घर टहराहरू हटाउने र अतिक्रमित जग्गाहरू खाली गराउने काम हुनेछ।'
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले पनि अहिले महानगर बलले माइकिङ गर्न थालेको र नेपाल प्रहरीले सुरक्षा दिएको बताए।
'महानगरले माइकिङ थालेको छ। प्रहरी सुरक्षाको दृष्टिकोणले खटिएको छ,' उनले भने।
प्रधानमन्त्री बालेन शाहले बुधबार सुरक्षा प्रमुखहरूलाई शनिबार र आइतबार सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका थिए।
सुकुम्बासी बस्ती हटाउने सुरूआत काठमाडौं उपत्यकाबाटै गर्न निर्देशन दिएका थिए।