काठमाडौंका सुकुम्बासी बस्ती डोजर लगाएर हटाएपछि देशका विभिन्न ठाउँमा आन्दोलनको क्रम सुरू भएको छ। यसै क्रममा सुर्खेतका सुकुम्बासी पनि आन्दोलित भएका छन्।
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर बजारमा शुक्रबार भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले विभिन्न नारासहित विरोध प्रदर्शन गरे।
उनीहरूले सुकुम्बासीको बसोबास सुनिश्चित गर, सुकुम्बासीलाई हटाउने कार्य बन्द गर, मानवअधिकारको रक्षा गर लगायत नारा लगाएका थिए।
प्रदर्शनका सहभागीहरूले भूमिहीन सुकुम्बासीहरूको उचित व्यवस्थापन नगरी जबर्जस्ती हटाउन खोजे आफूहरूलाई सह्य नहुने बताए।
सरकारको जबर्जस्ती जारी रहे आफूहरू चुप नलाग्ने र थप कडा आन्दोलन कार्यक्रमहरू घोषणा गर्ने उनीहरूको चेतावनी थियो। प्रदर्शनमा करिब पाँच सय सहभागी रहेको प्रहरीले जनाएको छ।