सर्वोच्च अदालतमा मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाउने संवैधानिक परिषदको निर्णयविरूद्ध ६ वटा रिट पेस भएको छ।
शुक्रबार सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता विपिन ढकाल लगायतले ६ वटा रिट पेस गरेका हुन्।
उक्त रिट पेस भए पनि सर्वच्च अदालत प्रशासनले दर्ता गरेको छैन।
रिट अध्ययन कै क्रममा रहेको सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
‘६ वटा रिट पेस भएका छन्। अहिले अध्ययनकै क्रममा छ,’ उनले भने।
बिहीबार बसेको संवैधानिक परिषदको बैठकले चौथो नम्बरमा रहेका न्यायाधीश डा.मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाउन सिफारिस गरेको हो।
उनलाई सिफारिस गर्दा संविधानको शक्तिपृथकीकरणको सिद्धान्त विपरीत भएको र यसले स्वतन्त्र न्यायपालिका ध्वस्त हुने दाबी सहित निर्णय खारेज गर्न माग गरिएको छ।
त्यस्तै, एक नम्बरमा रहेकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई सिफारिस गर्न समेत माग गरेको छ।
संवैधानिक परिषदको निर्णयमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दल नेता भिष्मराज आङ्देम्बेले नोट अफ डिसेन्ट लेखेका थिए।
उक्त निर्णयमा विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले पनि विरोध जनाएका छन्। सामाजिक सञ्जालहरूमा पनि यसबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन्।
परिषदले चौथो नम्बरमा रहेका शर्मालाई सिफारिस गरेपछि शुक्रबार बिहान सर्वोच्च अदालतका न्यायाधीशहरू छलफलमा समेत बसेका थिए। छलफलमा बसेपछि पेसी सूची निस्किन समेत ढिला भएको थियो।