तमिल सिनेमाका सुपरस्टार थालापति विजयको तमिलगा वेत्री कजगम (टिभिके) पार्टी सरकार बनाउने तयारीमा छ।
अप्रिल ४ मा विधानसभा निर्वाचनको परिणाम आए पनि स्पष्ट बहुमत नहुँदा टिभिकेलाई सरकार बनाउन समय लागेको थियो।
अहिले कंग्रेस आई र केही वामपन्थी दलहरूलाई साथमा लिएर विजयले सरकार गठनको तयारी गरेको भनेर बिबिसी हिन्दीले लेखेको छ।
ती दलहरूले समर्थन गर्ने भनेपछि विजयले बिहीबार नै राज्यपाल राजेन्द्र अर्लेकरसमक्ष बहुमत सांसदहरूको समर्थन रहेको भनेर सरकार गठनका लागि दाबी पेस गरिसकेका छन्।
तमिलनाडु विधानसभा चुनावमा २३४ मध्ये १०८ सिट जित्दै टीभीके सबैभन्दा ठूलो दल बनेको थियो।
विजय स्वयं दुई निर्वाचन क्षेत्रमा विजयी भएकाले एउटा सिट छाड्नुपर्नेछ। त्यसपछि पार्टीको सिट संख्या १०७ मा झर्नेछ भने सदनमा बहाल सांसद संख्या २३३ हुनेछ। सरकार गठनका लागि ११७ सांसदको समर्थन आवश्यक पर्ने बिबिसीले जनाएको छ।
यही अवस्थामा भारतीय राष्ट्रिय कंग्रेस, कम्युनिस्ट पार्टी अफ इन्डिया (सिपिआई) र कम्युनिस्ट पार्टी अफ इन्डिया मार्क्सवादी (सिपिएम) ले टीभीकेलाई समर्थन गर्ने घोषणा गरेका छन्।
पाँच सिट रहेको कंग्रेस र वामपन्थी दलहरूको समर्थनसँगै विजय पक्षले ११६ सदस्यको समर्थन जुटाइसकेको बताइएको छ।
अब दुई सिट जितेको विदुथलाई चिरूथाइगल कात्ची (भिसिके)को समर्थन पाए विजयले स्पष्ट बहुमत पुर्याउनेछन्।
राज्यपालसँग भेटपछि विजयले सीपीआई र सीपीएम कार्यालय पुगेर नेताहरूसँग प्रत्यक्ष भेटवार्ता गरेका थिए।
सीपीआई नेता डि. राजाले धर्मनिरपेक्ष सरकार गठनका लागि विजयलाई समर्थन गर्ने बताएका थिए।
सीपीएम नेता के. बालाकृष्णले भने सबैभन्दा ठूलो दललाई सरकार गठनको अवसर दिनु लोकतान्त्रिक दायित्व भएको बताएका छन्।
‘हामी राष्ट्रपति शासन वा राज्यपालमार्फत शासन चाहँदैनौं। जनताले रोजेको सरकार बन्नुपर्छ,’ उनले भनेका छन्।
यसबीच विजयलाई सरकार गठनका लागि बोलाउन राज्यपाललाई निर्देशन दिन माग गर्दै भारतको सर्वोच्च अदालतमा रिट दायर गरिएको भनेर बिबिसीले लेखेको छ।
उता पूर्वमुख्यमन्त्री तथा डीएमके अध्यक्ष एमके स्टालिनले पनि सरकार गठन प्रक्रिया ढिलाइ नगर्न राज्यपालसँग आग्रह गरेका छन्। उनले निर्वाचित जनप्रतिनिधिलाई शपथ गराएर नयाँ सरकार गठन गर्नु लोकतन्त्रको मूल दायित्व भएको बताएका छन्।
स्पष्ट बहुमत कसैले नल्याएको तमिलनाडुमा अहिले विजय केन्द्रमा छन्। फिल्मी पर्दाबाट राजनीतिमा आएका उनी अब वास्तविक सत्ताको कुर्सी नजिक पुगेका छन्।