नेपाली कम्युनिष्ट पार्टीका नेता लिलामणी पोखरेलले संविधान संसोधन गर्न अहिले उपयुक्त समय नभएको बताएका छन्।
शनिबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संविधान संशोधन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय सार्वभौमिकता र जनताले प्राप्त गरेका राजनीतिक उपलब्धिहरू नै संकटमा परेको अवस्थामा संविधान संशोधनको बहस अघि बढाउनु जोखिमपूर्ण हुने बताएका हुन्।
'यतिबेला राष्ट्रिय सार्वभौमिकताको क्राईसिस छ, नेपाली वामपन्थी आन्दोलनको क्राईसिस छ, पार्टीको आन्दोलन र उपलब्धीहरुको पनि संकट हो यो । हामीले प्राप्त गरेको उपलब्धीहरु बच्ने नबच्ने कुनै ठेगान छैन । पार्टी, नेता, कार्यकर्ता र जनतामा विश्वासको संकट छ, पार्टी एउटै छ, चुनावमा अर्कै चिन्हमा भोट हालेको छ । पार्टी र नेताको सम्बन्धको संकट छ । नेपाली जनताको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनमा संकट छ । यी संकटको स्थितिमा जुन शक्ति जुन माध्यामबाट आजको राज्यसत्ताको वागडोर सम्हालेको छ, त्यो शक्तिको नेतृत्वमा संविधान संसोधनको पेण्डोरा खोल्दिने हो ? यो गम्भिर प्रश्न छ,' उनले भने।
उनले संशोधन अग्रगमनतर्फ हुनुपर्ने तर सरकारको सोच नै प्रतिगमन र प्रतिगामी रहेको बताए।
'सिंहदरबार जला भनेर आदेश दिने अहिलेका प्रधानमन्त्री, सिंहदरबारको रक्षा गर्न बसेको सेना विभिन्न रसायनिक वस्तुहरुको प्रयोग गरेर सिंहदरबार जलाउँदा पनि हेर्दैन । अनि कसले के के भुमिका खेलेको थियो भन्ने बारेमा हामीले यसको छिनोफाँनो नगरिकन अहिले हामी संविधान संसोधन गरेर अग्रगामी, प्रगतिशील संविधान बनाउँछौँ भन्ने सोचेर हुन्छ?,' उनले भने।
त्यसकारण संविधान संसोधनको पेण्डोरा बक्स अहिल्यै खोल्न नहुने उनको भनाइ थियो। 'त्यहाँ वार्गेनिङ हुन्छ फेरि । महत्वपूर्ण कुराहरु हामीले लुज गर्नुपर्ने हुन्छ,' उनले भने। -न्युज एजेन्सी नेपाल