नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रभित्र गरिने सुधारलाई समर्थन रहने बताएका छन्।
कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले शनिबार गरेको सभामा बोल्दै उनले लोकतन्त्रभित्रबाट गरिने सुधारलाई सहयोग गरे पनि भयतन्त्र स्थापना गर्ने प्रयासलाई भने प्रतिरोध गरिने बताए।
‘लोकतन्त्रभित्र गरिने सुधारमा हाम्रो पूर्ण सहयोग रहन्छ तर लोकतन्त्रको स्थानमा लहडतन्त्र र भयतन्त्र स्थापना गर्ने कुनै पनि प्रयासको हामी दृढ प्रतिरोध गर्छौं,’ उनले भने।
फरक प्रसंगमा उनले संघमा कांग्रेस प्रतिपक्षमा रहे पनि प्रदेश र स्थानीय तहहरूमा सरकारमा रहेको बताए।
‘सातै प्रदेशमा हामी सरकारमा हो, ३३२ पालिका प्रमुखहरू र सबैभन्दा बढी वडामा हामीहरू छौं,’ उनले भने, ‘हामी हार्यौं, सकियौं भन्ने कुराबाट मुक्त हुनुपर्छ। संघमा मात्र हामी प्रतिपक्ष हो।’