नेपाली कांग्रेसले देशका सबै वडा कार्यसमितिले क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधिक गर्ने काम गरिरहेको बताएको छ।
यो कार्य वडाहरूमा उत्साहपूर्वक रूपमा भइरहेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।
‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधिक गर्ने कार्य देशैभरिका (६७४३ वटै) वडाहरूमा उत्साहपूर्वक भइरहेको विषय सर्वविदितै छ,’ उनले उल्लेख गरेका छन्।
साथै क्रियाशील सदस्यता अद्यावधिक गराउन पनि कांग्रेसले भनेको छ।
‘१५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिक गराउने प्रक्रियामा आफ्नो आधिकारिक मोबाइल नम्बर मार्फत नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आधिकारिक मोबाइल नम्बर ९७०१२५५५५५ मा आफ्नो मोबाइल नम्बर सूचीकृत गराउन एकपटक सम्पर्क गर्न नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्यहरूलाई अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।
वडा सभापति मार्फत् क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि यसरी सूचिकृत भएका नम्बरमार्फत् फर्म भर्ने प्रक्रिया सहज र छिटो हुने पनि उनको भनाइ छ।