राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूमिहीन सुकुम्बासीका समस्याबाट आफूले छाती नहटाएको बताएका छन्।
रास्वपा सांसदहरूको प्रशिक्षण कार्यक्रमको समापनमा आइतबार उनले भने, 'हाम्रो कारणले, हाम्रो पार्टीको कारणले एउटा पनि सुकुम्बासीको घर ठडिएको छैन। विगतमा उनीहरूलाई भोट बैंकका रूपमा प्रयोग गरिएकाले यो समस्या बल्झिएको हो भन्ने जगजाहेर छ। हामी त यो समस्या समाधान गर्न चाहन्छौं।'
अव्यवस्थित रूपमा र असुरक्षित ढंगले नदी किनारामा बसेका र गैरकानुनी रूपमा सार्वजनिक जग्गा हडपेको अवस्था अहिलेको कदम चालिएको उनले बताए।
'यसबाहेकको अवस्थामा म छाती थाप्न तयार छु। भूमिहीनहरूको समस्याबाट मैले आफ्नो छाती हटाएको छैन। कसैले पनि भूमिहीनहरूलाई उचाल्न जानैपर्दैन। हामी उहाँहरूलाई अधिकार दिन्छौं। उहाँहरूलाई अधिकार नदिलाएसम्म मेरो छाती हट्नेवाला छैन,' उनले भने।