दाङको घोराहीमा नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।
घोराही उपमहानगरपालिका– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) रास्वपा प्रवेश गरेका हुन्।
वैशाख २८ गते रास्वपाका जिल्ला सभापति विजय घिमिरेले वडाध्यक्ष घिमिरेलाई जिल्ला संगठन विभागको सदस्य पदमा नियुक्त गरेको पत्र सार्वजनिक भएको छ।
गत चैत २३ गते घोराहीमा बसेको एमाले दाङको जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ क्षेत्र–२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शंकर पोखरेलका विरूद्ध गतिविधि सञ्चालन गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको थियो। एमालेले घोराहीमा एमालेबाट निर्वाचित मेयर नरूलाल चौधरीलाई त्यसबारे पत्राचार गरी अवगत गराएको थियो।
त्यो पत्र एमाले प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुगेको र केन्द्रीय कमिटीले निर्वाचन आयोगमा त्यसबारे अवगत गराउँदा वडाध्यक्ष घिमिरे पदमुक्त हुने प्रक्रियाका कारण ढिलाइ भएको मेयर चौधरीले केही दिन पहिले सेतोपाटीलाई बताएका थिए।
तर, एमालेबाट वडाध्यक्ष घिमिरेमाथि औपचारिक रूपमा वडाध्यक्ष नरहेको बेहोराको पत्र प्राप्त नहुँदै रास्वपाले उनलाई पार्टीको जिम्मेवारीमा नियुक्त गरिदिएको हो।
वडाध्यक्ष घिमिरे २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए। जसले निर्वाचनको समयमा खुलेरै रास्वपाको पक्षमा गतिविधि गर्दै आएका थिए। उनले त्यतिबेलै सामाजिक संजालमार्फत एमाले त्यागेको घोषणा पनि गरेका थिए।
वडाध्यक्ष घिमिरेभन्दा पहिलै एमालेले पार्टी अनुसाशन विपरीत कार्य गरेको भन्दै घोराही–८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पनि पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको हुँदा उनको पद गएको थियो। शाह पनि गत निर्वाचनमा एमाले विरूद्ध खुलेरै लागेका थिए।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमाले महासचिव पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यसँग भारी मतान्तरले पराजित भएका थिए।
यो पनि:
चुनावमा शंकर पोखरेलविरूद्ध लागेको भन्दै वडाध्यक्षमाथि कारबाही