प्रधानमन्त्री बालेन शाह र परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन छुट्टाछुट्टै अमेरिका जाने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल सेप्टेम्बर २१ तारिखमा न्यूयोर्क पुग्नेछन्।
सेप्टेम्बर २२ तारिखदेखि नै उच्चस्तरिय सम्मेलन तथा बैठक सुरू हुने भएकाले परराष्ट्र मन्त्री खनाल २१ तारिखमा न्यूयोर्क पुग्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहले भने त्यसको दुई दिनपछि २३ तारिखमा न्यूयोर्क पुग्नेछन्।
उनले २४ तारिखमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन्। लगत्तै २५ तारिखमा काठमाडौंका लागि उड्नेछन्।
परराष्ट्र मन्त्री खनाल भने महासभापछि अन्य बैठकहरूमा समेत सहभागी हुनेछन्। खनाल २८ तारिखमा मात्र न्यूयोर्कबाट नेपालका लागि उड्नेछन्।
नेपालले सुरूआतमा परराष्ट्र मन्त्री स्तरमा मात्र महासभामा भाग लिने तयारी गरेको थियो।
मन्त्रिपरिषद्ले त्यसैअनुसार निर्णय गरेको थियो। तर भदौ १० को भोटेकोशी बाढीपछि जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउन प्रधानमन्त्रीमाथि दबाब बढेको थियो। त्यसपछि शाहको भ्रमणको तयारी थालिएको थियो। त्यसैले प्रधानमन्त्री शाहकै चाहनामा छोटो भ्रमणको कार्यक्रम तय भएको हो।
महासभामा सहभागी हुन नेपालबाट १५ सदस्यीय टोली अमेरिका जाने तय भएको मन्त्रालयले जनाएको छ। भ्रमण टोलीमा परराष्ट्र सचिव, प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेन सहित परराष्ट्रका अधिकारी तथा प्रधानमन्त्रीको निजी सुरक्षाकर्मी हुनेछन्।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भ्रमणका दौरान प्रधानमन्त्री शाहले साइडलाइनमा अन्य भेटघाट गर्ने/नगर्ने टुंगो छैन। त्यसैले अहिलेसम्म कुनै पनि साइडलाइन भेटवार्ता तय गरिएको छैन।