नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण पार्टी कमजोर भएको बताएका छन्।
पार्टी नेता, कार्यकर्ता र जनपरिचालनभन्दा सिडिओ सरूवातिर केन्द्रित हुँदा पनि जनतासँगको सम्बन्ट टुटेको उनले बताए।
पार्टीको मधेस प्रदेश कमिटीले आयोजना गरेको मिसन जागरण अभियानको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपमहासचिव ज्ञवालीले पार्टी नेताहरूको सरकारी र राजर्षीपनका कारण एमाले कमजोर भएको बताए।
'एमाले जनपरिचालन गर्ने पार्टी हो तर हाम्रो कार्यशैली सरकारी भयो। राजर्षी भयो,' महोत्तरीको लालगढमा जारी भेलामा ज्ञवालीले भने, 'हाम्रो ध्यान सिडिओ सरूवा, प्रहरी र प्रशासकीय अधिकृतको सरूवातिर केन्द्रित भयो। यसले पार्टी नेतालाई जनतासँग टाढा पुर्यायो। यो कुरा आजैका मितिबाट सुधार हुन जरूरी छ।'
ज्ञवालीले फागुनको निर्वाचनमा एमालेको कमजोर नतिजा आउनुमा पार्टीको आन्तरिक एकतामा भएको गडबडी पनि मुख्य कारक भएको बताए।
पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद, समूह–उपसमूहको निर्माण र निर्वाचनमा एकताबद्ध भएर जान नसक्दा यो अवस्था आएको उनको भनाइ थियो।
'गत वर्ष भदौ २३ गतेसम्म एमाले ठूलो र बलियो पार्टी थियो। तर यस वर्षको भदौ २३ मा एमाले कमजोर पार्टी भएको छ,' ज्ञवालीले भने, 'यो अवस्था आउनुमा पार्टी जनताका मुद्दाबाट टाढिएको परिणाम हो। जसले संविधान मिचिँदा होस् वा पार्टी नेतामाथि सरकारले ज्यादती गर्दा पनि जनता सडकमा आएनन्।'
ज्ञवालीले २०७९ को निर्वाचनपछि एमालेलाई सत्ताभोगी पार्टीका रूपमा जनताले बुझेको बताए। २०७९ देखि २०८२ सम्म आउँदा चार पटक एमालेले सत्ता समीकरण बदलेको उनले उल्लेख गरे।
'२०७९ देखि २०८२ सम्म एमालेले चार पटक सत्ता समीकरण बदल्यो। पहिला प्रचण्डलाई प्रधानमन्त्री बनायो। केही महिनामै त्यो सरकार छोड्यो। फेरि प्रचण्डलाई नै प्रधानमन्त्री मानेर सरकारमा सहभागी भयो,' ज्ञवालीले भने, 'सरकारमा भित्रिनु वा बाहिरिनुको कारण हामीले जनतालाई भनेनौं। आखिर प्रचण्ड सुध्रिएर हामी सत्तामा गएका थियौं कि हामी सुध्रिएर? यसको जबाफ अझै जनताले खोजेका छन्।'
प्रचण्ड सरकारबाट हठात हटेर कांग्रेससँगको सहकार्यले त जनतामा ज्यादै नकारात्मक सन्देश गएको उनले बताए।
एमालेले जनताका समस्याको पहिचान, उठान र समाधान दिनुपर्ने ज्ञवालीको भनाइ छ।