गृहमन्त्री सुधन गुरूङले कसैले राजीनामा माग्दैमा दिन नसकिने बताएका छन्।
मंगलबार ललितपुरमा आयोजित सहिद विकास महर्जनको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
आफूहरूलाई जनताले दुई तिहाइको म्याण्डेट दिएर पठाएकाले कसैले राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पारे।
उनले इतिहास र जनमतलाई कसैले फेर्न नसक्ने भन्दै जनताको अटुट विश्वासलाई कदर गर्दै अघि बढ्ने बताए।
उनले आफूहरू राजनीति गरेर शासन गर्न नभई विशुद्ध सेवा गर्ने भावले सरकारमा आएको दाबी गरे।
उनले भने,‘अघि नै मैले भनेको थिएँ, इतिहास हो। फेर्न सकिँदैन हजुर, इतिहास हो। नेपाली जनताले दुई तिहाइ बहुमत दिएर जाऊ काम गर भनेर हामीलाई दिएको विश्वास हो, फेर्न सकिँदैन हजुर। राजीनामा पनि दिन सकिँदैन। हामीलाई किनभने उहाँहरूले जिताएको होइन, नेपाली जनताले जिताएको हो हामीलाई। त्यही भएर हजुरका आशीर्वाद लिएर हामी तपाईंहरूको सेवामा आएका छौँ। तपाईंहरूलाई राजनीति गरेर राज गर्न आएका होइनौँ हामी, हामी सेवा गर्न आएका हौं। र सम्पूर्ण गृह प्रशासन तपाईंहरूको सेवामा लाग्नेवाला छ भनेर म तपाईंहरूलाई प्रमिस पनि गर्न चाहन्छु।’
गृहमन्त्री गुरूङले आगामी दिनमा सम्पूर्ण गृह प्रशासनलाई जनताको सेवामा पूर्ण रूपले परिचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। –न्यजु एजेन्सी नेपाल