कक्रोच जनता पार्टी (सिजेपी) ले सोमबार सरकारको आग्रहपछि केन्द्रीय मन्त्री जेपी नड्डालाई उनको निवासमा भेटेर १० मिनेट कुराकानी गरेको बताएको छ।
मनसुन अधिवेशनको पहिलो दिन सोमबार सिजेपीले आयोजना गरेको 'चलो संसद' मार्चपास कार्यक्रमबीच केन्द्रीय मन्त्री नड्डासँग भेटेको सिजेपी प्रवक्ता आशुतोष रांकाले जानकारी दिए।
उनका अनुसार मन्त्री नड्डासमक्ष सिजेपीले तीनवटा प्रमुख माग राखेको छ —
पहिलो, सोनाम वाङचुकको तत्काल रिहाइ।
दोस्रो, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा।
तेस्रो, 'नीट' (राष्ट्रिय योग्यता परीक्षा) परीक्षा विवादका कारण आत्महत्या गरेका प्रत्येक परीक्षार्थीका परिवारलाई १ करोड रूपैयाँ क्षतिपूर्ति।
यसैबीच अस्पताल भर्ना गरिएका सामाजिक अभियानी सोनम वाङचुकले अस्पतालबाटै एउटा अपिल जारी गर्दै आफूलाई पनि यो विरोध मार्चमा सहभागी हुन दिन माग गरेका छन्।
उता जन्तर-मन्तरमा अनियन्त्रित बनेको भिडलाई तितरबितर पार्न प्रहरीले लाठीचार्ज र बल प्रयोग गरेको छ।
आजाद समाज पार्टी (कांसीराम) का अध्यक्ष चन्द्रशेखर आजादको गाडी आएपछि भिड अनियन्त्रित बनेको र केहीले ढुंगामुढा गरेको दाबी गरिएको छ।
प्रहरी उपायुक्त (डिसिपी) सचिन शर्माले भने दिल्ली प्रहरीका कुनै पनि जवानले प्रदर्शनकारीमाथि बल प्रयोग नगरेको दाबी गरेका छन्।
जन्तर-मन्तरमा कडा सुरक्षा व्यवस्था कायमै राखिएको छ भने प्रदर्शनकारीहरूले धर्ना स्थलको इन्टरनेट सेवा काटिएको आरोप लगाएका छन्।
आजादका अलावा तृणमूल कांग्रेस (टिएमसी) की सांसद महुवा मोइत्रा, अभिनेता प्रकाश राज, अभिनेत्री शबाना आजमी तथा आम आदमी पार्टीका नेताहरू प्रदर्शनकारीलाई समर्थन गर्न पुगेका थिए।
प्रहरीका अनुसार मार्चका लागि करिब ८ हजार प्रदर्शनकारीहरू जम्मा भएका थिए।
संसदको मनसुन अधिवेशनको पहिलो दिन आयोजित यो विरोध मार्चलाई दिल्ली प्रहरीले अनुमति दिएको छैन र नयाँ दिल्लीका अधिकांश क्षेत्रमा निषेधाज्ञा (धारा १६३) लागू गरिएको छ।
सिजेपीले नीट प्रश्नपत्र लीक लगायतका मुद्दाहरूमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै एक महिनाभन्दा बढी समयदेखि यहाँ प्रदर्शन गरिरहेको छ।
सोनाम वाङचुकले अनसन तोड्न राखेका ३ सर्तमाथि उठ्यो प्रश्न
भारतको राजधानी दिल्लीको जन्तर-मन्तरमा आमरण अनसन बसिरहेका सामाजिक अभियानी सोनाम वाङचुक अस्पताल भर्ना भएका छन्।
प्रहरीले दिल्ली उच्च अदालतको निर्देशनको हवाला दिँदै जुलाई १८ मा उनलाई जबर्दस्ती सफदरजंग अस्पताल लगेको थियो।
अस्पतालमा उनले ड्रिप (सलाइन) वा मुखबाट कुनै पनि तरल पदार्थ लिन अस्वीकार गरेका छन् र आफ्नो अनसन जारी रहने बताएका छन्। सोमबार भने उनले सामाजिक सञ्जाल 'एक्स' (ट्वीटर) मा पोस्ट गर्दै आफ्नो अनसन समाप्त गर्न तीनवटा सर्त राखेका छन्।
बिबिसी हिन्दीका अनुसार सोनाम वाङचुकले राखेका सर्तमा भनिएको छ —
प्रश्नपत्र सार्वजनिक भएका घटना लगायत शिक्षा व्यवस्थाको 'हालैका असफलता' को जिम्मेवारी सरकारले लेओस्,
राजनीतिक दलहरूले संसदमा यो मुद्दा उठाउने विश्वास दिलाऊन्,
र, विभिन्न दलका सांसद र नेताहरू अस्पताल आएर उनलाई भेटेर यसबारे आश्वासन दिऊन्।

यी सर्तहरूमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग उल्लेख छैन, जबकि ककरोच जनता पार्टी र सोनाम वाङचुकको प्रमुख माग यही थियो।
सोनाम वाङचुक 'नीट' परीक्षाहरूमा भएको भनिएका अनियमितताहरूका लागि धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै अनसन बसेका थिए। अहिले आएर उनका सर्तमा धर्मेन्द्रको राजीनामाबारे उल्लेख नहुनुले मानिसहरूलाई अचम्ममा पारेको छ।
बिबिसीका अनुसार धेरै वरिष्ठ पत्रकार र शिक्षाविद्हरूको प्रश्न छ — धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका सोनाम वाङचुकले अचानक शिक्षा व्यवस्था सुधार गर्ने जिम्मेवारी विपक्षको काँधमा किन हाले?
वरिष्ठ पत्रकार मुकेश कुमारले सोनाम वाङचुकका यी मागमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जाल 'एक्स'मा लेखेका छन्, 'के सोनाम वाङचुकले आफूलाई ककरोच पार्टीको आन्दोलनबाट अलग गरेका हुन्? उनले आफ्नो अनसन तोड्ने सहज सर्तहरू राख्नुअघि आन्दोलनका अन्य साथीहरूसँग कुरा गरेका थिए? यदि गरेका थिए भने के सबै जना यी सर्तमा सहमत थिए?'
'के उनले सरकारलाई छाडिदिने र सम्पूर्ण भार अब विपक्षको काँधमा हाल्ने कुरा स्वीकार गरेका हुन्?' उनले लेखेका छन्, 'के यसको अर्थ आन्दोलन समाप्त भयो भन्ने हुन्छ? अर्थात् सोनाम वाङचुकले आन्दोलन समाप्त पार्न भूमिका खेले? यी प्रश्नहरूको जबाफको प्रतीक्षा छ।'
उनले यसअघि अर्को पोस्टमा लेखेका थिए, 'सोनाम वाङचुकको यो भनाइले शंका बढाएको छ। उनी भन्दै छन्, राज्यपालले उनलाई अभिजीत दीपकेलाई भेट्न बाध्य पारे। राज्यपालले उनलाई किन बाध्य पारे? उनका के स्वार्थ थिए? के उनलाई माथिबाट सोनाम वाङचुकको प्रयोग गर्ने निर्देशन दिइएको थियो?'
उनले थप लेखेका छन्, 'सोनाम वाङचुक किन बाध्य भए? उनको कुन बाध्यताको फाइदा सरकारले उठायो? सोनामले के कुराकानी गरेका थिए भनेर अभिजीत दीपकेलाई सोधिनुपर्छ? के सोनामले राज्यपालको कुरा बताएका थिए?'
शिक्षाविद् तथा लेखक अपूर्वानन्दले पनि यस्तै प्रश्न उठाएका छन्।
उनले 'एक्स'मा लेखेका छन्, 'कस्तो निराशाजनक कुरा हो। अब बल सरकारको कोर्टबाट निस्किएर विपक्षको कोर्टमा पुगेको छ। उनी (सोनाम वाङचुक) विपक्षी नेताहरूसँग अस्पताल आएर संसदको जारी सत्रमा शिक्षाको मुद्दा बलियोसँग उठाउने आश्वासन दिन अपिल गरिरहेका छन्।'
पत्रकार स्वाती चतुर्वेदीले 'एक्स'मा लेखेकी छन्, 'धर्मेन्द्र प्रधानको राजीनामा माग र अनिश्चितकालीन भोक हड्तालबाट सोनाम पछि हट्नु मोदी सरकारका लागि ठूलो राजनीतिक जित हो। अब लाग्छ, मन्त्रीहरूसँगको बैठक नै काफी हुनेछ। यस्ता नतिजाहरूको अनुमान पहिले नै थियो। यो सम्पूर्ण घटनाक्रममा उनका समर्थकहरूले आफ्नै विश्वसनीयतालाई नोक्सान पुर्याए।'
यद्यपि प्रख्यात सामाजिक अभियनी योगेन्द्र यादव भने सोनाम वाङचुक र ककरोच जनता पार्टीको आन्दोलनलाई एउटा कोसेढुंगा मान्छन्।
उनले पत्रकार स्मिता शर्मासँगको कुराकानीमा भनेका छन्, 'लगभग ५० वर्षपछि यो देशका युवाहरू शिक्षाको प्रश्नमा एकजुट भएका छन्। नतिजा जेसुकै होस्, तर यो आन्दोलन एउटा कोसेढुंगा साबित हुनेछ र शिक्षा तथा रोजगारी यो देशको राजनीतिको केन्द्रीय मुद्दा बन्नेछ।'
योगेन्द्र यादवले भने, 'सोनाम वाङचुकले आफ्नो लिखित बयानमा भनेका छन्, सरकारले या त जिम्मेवारी लेओस् अर्थात् धर्मेन्द्र प्रधानबाट राजीनामा लेओस्, वा सांसदहरू अर्थात् विपक्षी सांसदहरूले उनलाई संसदमा यो मुद्दा उठाउने आश्वासन दिऊन्।'
के सोनाम वाङचुक आफ्नो आन्दोलन समाप्त गर्न तयार छन् भन्ने प्रश्नमा योगेन्द्र यादवले भने, 'सोनाम वाङचुकको यो बयानको आन्दोलन समाप्त गर्नेसँग कुनै सम्बन्ध छैन।'
उनले अगाडि भने, 'सोनाम वाङचुकले यी सर्तहरू पूरा भए आन्दोलन समाप्त गर्नेछन् भनेर पक्कै भनेका छैनन्। उनले भोक हड्ताल समाप्त गर्ने बताएका हुन्। उनीसँगै बसेका विद्यार्थीहरूले पनि आज भोक हड्ताल समाप्त गर्नेछन्।'
यसबीच, सिपिआई-एमएल (लिबरेसन) को विद्यार्थी संगठन 'आइसा'का तीन जना अनसनकारीले २३ दिनदेखि चलिरहेको आफ्नो भोक हड्ताल समाप्त गरेका छन्।
ती आन्दोलनकारीलाई भेट्न पुगेकी शबाना आजमीले भनिन्, 'हाम्रो पुस्ता नयाँ पुस्ताका लागि राम्रो बाटो बनाउन पूर्ण रूपमा सफल नभए पनि विद्यार्थीहरूको संघर्षले भावी दिशा देखाएको छ।'
सोनाम वाङचुकका सर्तहरूबारे बिबिसी न्यूज हिन्दीसँग कुरा गर्दै वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक शरद गुप्ताले लद्दाखका यी सामाजिक अभियनीसँग सीमित विकल्पहरू रहेको बताए।
उनले भने, 'सोनाम वाङचुकका अगाडि दुईवटा मात्र बाटा छन्। एउटा त उनले आफ्नो आमरण अनसन जारी राखून् र डा. जिडी अग्रवाल जस्तै सहिद भएर पछि बिर्सिइऊन्। दोस्रो बाटो, उनले आफ्नो भोक हड्ताल तोडून्। यसका लागि उनलाई एउटा सम्मानजनक बाटो चाहिन्छ।'
'सरकार कुरा गर्न तयार नभएको अवस्थामा सोनाम वाङचुकका लागि सम्मानजनक बाटो यही हुन सक्थ्यो, कम्तिमा विपक्षले यो मुद्दा संसदमा उठाइदेओस्। उनका लागि यत्ति नै सन्तोषजनक कुरा हुनेछ,' उनले भने।
आइआइटीका प्राध्यापक तथा पर्यावरणविद जिडी अग्रवालले सन् २०१८ मा गंगा सफाइको मुद्दामा १११ दिनसम्म अनसन बसेपछि प्राण त्यागेका थिए।
त्यति बेला उनको उमेर ८६ वर्ष थियो। उनी गंगामा अवैध उत्खनन, बाँध जस्ता ठूला निर्माणहरू रोक्न र गंगाको सफाइलाई लिएर लामो समयदेखि आवाज उठाउँदै आएका थिए। यस विषयमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पनि लेखेका थिए।
ऋषिकेशमा अनसन बसेपछि केन्द्र सरकारले हरिद्वारका सांसदलाई उनलाई मनाउन पठाएको थियो, तर उनीहरूले ल्याएको प्रस्तावलाई जिडी अग्रवालले अस्वीकार गरिदिएका थिए।