आपतकालीन सवारी गुडाएर उद्घाटन गर्न लागिएको नेपालकै पहिलो आधुनिक नागढुंगा सुरूङमार्ग अहिले त्यहाँबाट हटाइएको शिलालेखलाई लिएर चर्चामा छ।
सुरूमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधनलाई प्रवेश दिएर सोमबार सुरूङ मार्ग उद्घाटन गर्न लागिएको हो।
उद्घाटनको पूर्वसन्ध्यामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम रहेको शिलालेख आयोजनाबाट हटाइएको विषय सार्वजनिक भएपछि यसबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन्।
नागढुंगा सुरूङमार्ग तत्कालीन प्रधानमन्त्री ओलीले २०७६ कात्तिक ४ गते शिलान्यास गरेका थिए। आयोजना शिलान्यास बेला ओलीले अनावरण गरेको शिलालेख अहिले आयोजना स्थलबाट हटाइएको छ। सोमबार उद्घाटन समारोहमा पनि त्यो शिलालेखलाई पुरानै ठाउँमा स्थापित गरिने सम्भावना कम देखिएको आयोजनाका अधिकारीहरूले बताएका छन्।
हामीले ओलीको नाम रहेको शिलालेख सुरूङमार्गबाट किन र कहिले हटाइयो भन्नेबारे आयोजनाका उप-निर्देशक सञ्जय पन्थीसँग कुरा गरेका छौं।
सुरूङ निर्माण कार्यमा शिलालेखले बाधा पार्ने भएकाले त्यसलाई यसअघि नै आयोजना स्थलबाट झिकेर सडक विभागमा राखिएको पन्थीले स्पष्टीकरण दिएका छन्।
'यस्ता ठूला आयोजना निर्माण गर्दा शिलालेखले बाधा पार्ने भएकाले प्राय: निर्माण क्रममै निकालेर सुरक्षित ठाउँमा राख्ने गरिन्छ। हामीले पनि सडक विभागमा सुरक्षित राखेका हौं,' उनले सेतोपाटीसँग भने, 'तर विभागमा आगलागी हुँदा शिलालेख पनि त्यहीँ पर्यो। अहिले फेरि आयोजनामा राख्न हामीले खोज्यौं, तर भेटिएन।'
जेनजी आन्दोलन क्रममा सडक विभागमा आगो लगाइँदा संरचनामा क्षति पुगेका कारण शिलालेख नभेटिएको उनको दाबी छ।
शिलालेख हटाउन माथिल्लो निकायबाट दबाब आएको भन्ने भनाइ अस्वीकार गर्दै पन्थीले भने, 'हामीलाई माथिल्लो निकायबाट केही भनिएको छैन। हामीले सडक विभागमा सुरक्षित राखेको शिलालेख उद्घाटन समारोहमा आयोजना स्थलमै ल्याउनुपर्यो भनेर खोजेका हौं। तर फेला नपरेपछि हामीले राख्न सकेका छैनौं।'
फेला परेसम्म उद्घाटन समारोहमा उक्त शिलालेख ल्याएर राखिने उनको भनाइ छ।
यो आयोजना निर्माण अप्रिल २०२३ भित्र सक्ने गरी सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच सम्झौता भएको थियो। तर कोभिड महामारी, विभिन्न प्राविधिक समस्या, स्थानीयको अवरोध लगायत कारण निर्माणमा ढिलाइ हुँदा बल्ल आयोजना सञ्चालन आउन लागेको हो।
सुरूङ मार्ग सञ्चालनका लागि चिनियाँ संलग्न जोइन्टभेन्चर कम्पनी युक्सिन–एआरटीले जिम्मा पाएको छ।
आयोजनाका अनुसार सोमबारदेखि सुरूमा एम्बुलेन्स, दमकल, नेपाल प्रहरी लगायत सुरक्षा निकायका आपतकालीन सवारीलाई मात्र प्रवेश दिइनेछ।
मोटरसाइकल, तीनपांग्रे र पेट्रोल, डिजेल, एलपी ग्यास लगायत अत्यधिक प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारी साधनलाई प्रवेश दिइने छैन। पैदलयात्रीले पनि सुरूङमार्गबाट प्रवेश पाउने छैनन्।
अन्य योग्य सवारीलाई भने चरणवद्ध रूपमा प्रवेश दिइने पन्थीले बताए। उनका अनुसार करिब १५ दिनसम्म कुनै पनि शुल्क लिइने छैन। त्यसपछि शुल्क लिने विषयमा छलफल हुनेछ।
कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौं प्रवेश गर्दा ६५ रूपैयाँ र बाहिरिँदा ६० रूपैयाँ शुल्क तिर्नुपर्ने तोकिएको छ।
त्यस्तै, मिनी बस, मिनी टिपर/ट्रकको प्रवेशका लागि ११५ रूपैयाँ, बाहिरिँदा ८० रूपैयाँ तथा बस, ट्रक (सिंगल रियर एक्सल) लाई प्रति सवारीसाधन प्रवेश गर्दा २६० रूपैयाँ र बाहिरिँदा २०० रूपैयाँ शुल्क तोकिएको छ।
मल्टी एक्सल ट्रक/सवारीसाधन तथा भारी उपकरणका हकमा प्रवेश गर्दा ६०० रूपैयाँ र बाहिरिँदा २५० रूपैयाँ तोकिएको छ।
यो सुरूङले काठमाडौंतर्फ बलम्बु र धादिङको सिस्नेखोलास्थित पृथ्वी राजमार्गलाई जोड्छ। सिस्नेखोलादेखि काठमाडौं बलम्बुसम्म अहिले सडकको दुरी ८ किलोमिटर छ। सुरूङमार्ग बनेपछि सिस्नेखोला–बलम्बु दुरी ५ किलोमिटर हुन्छ। सिस्नेखोला–बलम्बु जोड्ने सुरूङ तयार गरेर २.८ किलोमिटर दुरी घटाउन लागिएको हो।
दुरीका हिसाबले सुरूङमार्ग र अहिलेकै सडकबीच त्यति धेरै फरक नदेखिए पनि सुरूङमार्गको प्रयोगबाट पेट्रोलियम पदार्थको खपत ठूलो परिमाणमा बचत हुने अपेक्षा छ।
सिस्नेखोलादेखि नागढुंगासम्म दिनहुँ सवारी साधन जाम हुने समस्या छ। सुरूङमार्ग सञ्चालनपछि यो समस्या हट्ने विश्वास गरिएको छ। सुरूङमार्ग हुँदै काठमाडौंतर्फ आउँदा ३३ मिनेट र काठमाडौं बाहिर जाँदा २३ मिनेट समय बचत हुनेछ।
यो आयोजनामा एउटा मुख्य र अर्को उद्धार (रेस्क्यु) गरी दुईवटा सुरूङ छन्। रेस्क्यु सुरूङको लम्बाइ २,५५७ मिटर छ। मुख्य सुरूङको दुवैतर्फ सवारी साधन हुन्छन्। दुर्घटना भइहाल्यो भने तुरून्तै उद्धार गरिन्छ।
उद्धार सुरूङ मुख्य सुरूङबाट ३० मिटर फरकमा छ। उद्धार सुरूङमा सवारी गुड्ने सडक साढे चार मिटर चौडा हुनेछ। यो सुरूङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ। आकस्मिक अवस्थामा प्रयोग हुने यो सुरूङमा दमकल, एम्बुलेन्स जस्ता साधन गुड्न पाउँछन्।
मुख्य सुरूङ र रेस्क्यु सुरूङमा विभिन्न ७ ठाउँमा क्रस प्यासेज राखिएको छ। सुरूङभित्र दुर्घटना भएको अवस्थामा वा अन्य आपतकालीन अवस्थामा ती क्रस प्यासेजबाट एम्बुलेन्स तथा दमकलजस्ता साधन आवतजावत गर्न सक्छन्।
यो आयोजनामा जापानको झन्डै २२ अर्ब सहुलियत ऋण र नेपाल सरकारको ६ अर्ब रूपैयाँ लगानी छ।