पश्चिम नवलपरासीको सुस्तालाई नारायणी नदीको कटानबाट जोगाउन निर्माण गरिएको अस्थायी बाँधलाई भारतीय एसएसबीले भत्काइदिएको छ।
नारायणीले कटान गर्न थालेपछि स्थानीयले बस्ती र जमिन जोगाउन साउन १५ गते अस्थायी बाँध निर्माण गरेका थिए। बोरामा बालुवा भरेर निर्माण गरिएको बाँधलाई आइतबार बिहान सादा पोसाकमा आएका १०/१५ जना एसएसबीको समूहले भत्काएको सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले बताए।
यसअघि नारायणी नदी किनारको एक किलोमिटर क्षेत्रमा तटबन्धन निर्माण भइरहेको थियो। त्यही तटबन्धनसँग जोडेर पूर्वतर्फ १३२ मिटर क्षेत्रमा दुई महिनाअघि तटबन्धन निर्माण गर्न लाग्दा एसएसबीले अवरोध गरेको थियो।
त्यही स्थानमा नदीले कटान गर्न थालेपछि स्थानीयले बोरामा बालुवा भरेर अस्थायी बाँध बनाएका थिए।
त्यही बाँधलाई एसएसबीले भत्काएको सुस्ता बचाउ युवा अभियानका संयोजक गौतमले जानकारी दिए। त्यस क्रममा एसएसबी टोली र स्थानीयबीच झडप समेत भएको थियो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीका एसपी गोविन्द खातीले अस्थायी रूपमा दसगजा क्षेत्र नजिक स्थानीयले थुपारेको माटो भारतीय पक्षले हटाएको जानकारी पाउनासाथ सशस्त्र प्रहरीको टोली परिचालन गरी दुवै पक्षलाई सम्झाइएको बताए।
सुस्तामा सीमा स्तम्भ नहुँदा दुवै देशका सुरक्षा अधिकारीको सहमति अनुसार सिमलको रूखलाई अस्थायी सीमा संकेतका रूपमा मानिँदै आएको छ।
भारतीय पक्षले उक्त रूखबाट करिब २०० मिटर पर रहेको अर्को रूखभन्दा अगाडि नबढ्न भन्दै आएको छ। अगाडि नबढ्न भनेकै ठाउँ नजिक माटो खसालेर बाँध बाँधेको भन्दै एसएसबीले हटाएको एसपी खातीले बताए।
स्थानीयले भने आफूहरूले भारतीय पक्षले भनेको रूखभन्दा करिब ५० मिटर पछाडि नदीको भेल रोक्न माटो राखेको दाबी गरेका छन्।
नारायणी नदीपारि रहेको सुस्ता गाउँपालिका वडा नम्बर ५ स्थित सुस्ता गाउँमा करिब ४ सय घरपरिवारको बसोबास छ। गाउँलाई नदीको जोखिमबाट जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना चितवनले पहिलो चरणमा साढे ११ करोड रूपैयाँ लागतमा तटबन्ध निर्माण गरिरहेको छ।
त्योसँगै थप १ करोड ४६ लाख रूपैयाँ लागतमा निर्माण सुरू गरिएको १३२ मिटर तटबन्धनको काम भारतीय अवरोधका कारण अगाडि बढ्न सकेको छैन।
सुस्ताको कुल क्षेत्रफल ४० हजार ९८० हेक्टर रहेको छ। भारतीयको अतिक्रमणका कारण हाल सुस्ताबासीले ७ हजार हेक्टर भूमि मात्र उपयोग गर्दै आएका छन्। १४ हजार ५ सय हेक्टर भूमि भारतले अतिक्रमण गरिसकेको र १९ हजार ४८० हेक्टर क्षेलाई विवादित भन्दै प्रयोग गर्न दिइएको छैन।