बेल्जियमको गेन्टमा बसेर याम निरौला सुसी रेस्टुरेन्टका लागि चाहिने सामग्री जुटाइरहेका छन्। जापानी परिकारका लागि आवश्यक खाद्यान्नदेखि प्याकेजिङका सामानसम्म विभिन्न देशबाट आयात गरेर उनी बेल्जियमका रेस्टुरेन्टमा पुर्याउँछन्।
उनको व्यवसायमा अहिले ६ सयभन्दा बढी सुसी रेस्टुरेन्ट जोडिएका छन्।
यो यात्रा यामले एक्लैले तय गरेका होइनन्। व्यवसायमा उनीबाहेक अरू पाँच जना साझेदार छन्। कम्पनीको मुख्य व्यवस्थापनको जिम्मेवारी यामले सम्हाल्दै आएका छन्।
'मसहित ६ जनाको लगानी छ,' कम्पनीका सह–संस्थापक यामले भने, '६ सयभन्दा बढी रेस्टुरेन्टलाई यस्ता सामग्री बिक्री गर्दै आएका छौं।'
सन् २०२० मा स्थापित 'फुड एसिया' मार्फत याम र उनका साझेदारले रेस्टुरेन्टलाई आवश्यक फ्रोजन माछा, खाद्यान्न तथा प्याकेजिङ सामग्री बि–टू–बी (व्यवसाय–व्यवसाय) माध्यमबाट बिक्री गर्दै आएका छन्।
फुड एसियाको व्यवसाय विस्तार हुँदै जाँदा यही समूहले गत वर्षदेखि अर्को कम्पनी पनि सञ्चालनमा ल्याएको छ। 'ग्रीन सी फुड' नामको उक्त कम्पनीले सुसी रेस्टुरेन्टका लागि आवश्यक ताजा माछा (सामन, टुना) लगायत सामग्री तथा तरकारी आयात गरेर बेच्छ।
बेल्जियम जानुअघि याम नेपालमै व्यवसाय गर्थे।

यामको घर इटहरी हो। उनका बुबा शिक्षक थिए, आमा गृहिणी। तेह्रथुमको एक विद्यालयबाट उनले एसएलसी (एसइई सरह) दिए। त्यसपछि विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र तह (कक्षा १२) सके।
पढाइका क्रममा विराटनगर पुगेका याम त्यसपछि काठमाडौं आए। स्नातक तहको पढाइ पूरा गरेपछि २०५२ सालमा इटहरी फर्किए।
इटहरी फर्किएपछि उनले आफ्नै व्यवसाय सुरू गरे। उनी चीनबाट रेडिमेड (तयारी) कपडा ल्याएर होलसेल तथा खुद्रा बिक्री गर्थे। व्यवसायसँगै ठेक्कापट्टाको काम पनि अघि बढाए।
व्यवसायमा सक्रिय हुँदै गएपछि उनी उद्योग वाणिज्य संघ, इटहरीमा आबद्ध भए।
'संघमा म सचिवसम्म भएको थिएँ,' यामले भने।
उनले व्यवसायमा ठूलो लगानी गरेका थिए, तर त्यसको प्रतिफल आउन लाग्ने समयको टुंगो थिएन। त्यसमाथि माओवादी सशस्त्र युद्धका कारण व्यवसायको वातावरण बिग्रिँदै गयो। व्यवसाय दिगो रूपमा अघि बढाउन कठिन देखिएपछि उनले नयाँ अवसर खोज्ने निर्णय गरे।
त्यही सिलसिलामा उनी सन् २००३ मा भिजिट भिसामा बेल्जियम पुगे।
नयाँ देश, नयाँ भाषा र कामको अनुभव नहुँदा सुरूआत निकै कठिन भयो। बेल्जियममा उनका आफन्त कोही थिएनन्। भाइका एक जना साथीको माध्यमबाट उनले एउटा रेस्टुरेन्टमा काम पाए।
'नेपाली रेस्टुरेन्टमा भाँडा माझ्ने काम पाएको थिएँ,' उनले सुनाए, 'त्यहाँ एक–दुई महिना मात्रै काम गरेँ।'
त्यसपछि उनले बेल्जियमको एउटा रेस्टुरेन्टमा काम थाले। उनको जिम्मेवारी भाँडा माझ्ने र किचन हेल्परको थियो।
नेपाल हुँदा कहिल्यै खाना नपकाएका यामका लागि विदेशको रेस्टुरेन्टको भान्सामा काम गर्नु सहज थिएन। परिवारको यादले पनि उत्तिकै सताउँथ्यो। तर कामप्रति सम्मान गर्ने वातावरणले उनलाई अघि बढ्न हौसला दियो।
बिस्तारै उनले रेस्टुरेन्टको काम सिके। डच भाषा पनि सिक्दै गए। आफूलाई त्यहाँको वातावरणमा अभ्यस्त बनाउँदै लगे।
उनले रेस्टुरेन्टमा सलादको विभाग सम्हाल्ने अवसर पाए। त्यसपछि काम केही सहज लाग्न थाल्यो। त्यहाँ उनले करिब चार वर्ष काम गरे, असिस्टेन्ट सेफसम्म भए।
त्यो बेलासम्म यामका धेरै आफन्त बेल्जियम आइसकेका थिए। कामको अनुभवले उनलाई अब आफ्नै व्यवसाय गर्ने आँट दियो। उनले आफ्नै रेस्टुरेन्ट खोले।
'अंकलसँग साझेदारीमा एउटा टर्किस रेस्टुरेन्ट किन्यौं। तर सोचेजस्तो भएन,' यामले भने।
त्यही समय नेपालबाट उनको परिवार भर्खरै बेल्जियम पुगेको थियो। व्यवसायमा भएको घाटाले आर्थिक अवस्था झन् खुम्चियो। कतिसम्म भने, उनी बस्ने ठाउँ र रेस्टुरेन्ट पुग्न रेलभाडा समेत जुटाउन गाह्रो भयो।
यही अप्ठ्यारोमा उनले नेपालदेखिकै मिल्ने साथी अर्जुन श्रेष्ठलाई आफ्नो समस्या सुनाए। अर्जुनका दाइहरू बेल्जियममा रेस्टुरेन्ट व्यवसायमै सक्रिय थिए। उनीहरूको सल्लाहमा यामले व्यवसायलाई नयाँ ढंगले अघि बढाउने बाटो पाए।
'मेनु बनाउन पनि उहाँहरूले सहयोग गर्नुभयो। नाम पनि फेरेर इकुरा सुसी रेस्टुरेन्ट बनायौं,' उनले भने।
रेस्टुरेन्ट राम्रो चल्न थाल्यो। सुरूमा उनीहरूले थोरै कर्मचारी राखेर आफै काम गरे। पछि बिस्तारै कर्मचारी थप्दै गए।

करिब ६ वर्षपछि यामले आफ्नो सेयर झिकेर छुट्टै सुसी रेस्टुरेन्ट किने। त्यसको केही समयपछि अर्को एसियन फास्ट फुड रेस्टुरेन्टमा लगानी गरे।
'तर बिस्तारै मलाई रेस्टुरेन्ट व्यवसायलाई निरन्तरता दिन रूचि भएन। व्यवसाय सानो भएकाले धेरै कर्मचारी राख्न सक्ने अवस्था थिएन। त्यसैले आफै खटिनुपर्थ्यो,' उनले भने, 'अनि मलाई रेस्टुरेन्ट चलाउनेभन्दा त्यसका लागि आवश्यक सामग्री उपलब्ध गराउने खयाल आयो।'
त्यसपछि उनले आफ्ना रेस्टुरेन्ट बेचे।
उनी नेपाली बिजनेस एसोसिएसन, बेल्जियममा सन् २०१४ मा महासचिव र २०१८ मा अध्यक्ष भएका थिए। त्यो बेला धेरै नेपाली व्यवसायीसँग चिनजान भएको थियो। त्यसले पनि उनलाई नयाँ व्यवसायमा अगाडि बढ्न मद्दत पुग्यो।
'त्यति बेला बेल्जियममा धेरै नेपालीहरू सुसी रेस्टुरेन्ट चलाउँथे। आवश्यक सामग्री भने चिनियाँ व्यवसायीबाट लिन्थे,' उनले भने, 'नेपाली रेस्टुरेन्टहरूलाई आवश्यक सामान उपलब्ध गराउने सोचले सन् २०२० मा हामीले फुड एसिया कम्पनी सुरू गर्यौं।'
नयाँ कम्पनी सुरू गर्नु र कोरोना महामारी फैलिनु सँगसँगै भयो। रेस्टुरेन्टहरूमा बसेर खान बन्द भयो। तर टेकअवे सेवा खुला भएकाले उनको व्यवसायमा कुनै असर परेन।
पहिलो वर्ष नै फुड एसिया नाफामा गयो।
यामका अनुसार अहिले फुड एसिया र ग्रीन सी फुड दुवै कम्पनीको कारोबार राम्रो छ। २० जनाभन्दा बढीलाई रोजगारी दिइएको छ। त्यसमध्ये अधिकांश नेपाली हुन्।
'रेस्टुरेन्टलाई आवश्यक सामग्री बिक्री गर्ने कम्पनीमध्ये यो बेल्जियमकै ठूलो हो,' यामको दाबी छ।