नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
विशेष महाधिवेशनपछि पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका चालिसेले पार्टीलाई समयानुकूल रूपान्तरण गर्दै संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित उपसभापति पदमा उम्मेदवारी घोषणा गरेको बताए।
प्रवक्ता चालिसेले सेतोपाटीसँग कुराकानी गर्दै आफूले उपसभापति पदमा उम्मेदवारी दिने बताए। मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।
चालिसेले कांग्रेसको विशेष महाधिवेशनका क्रममा महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सङ्कलनमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए।
विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउन प्रतिनिधिहरूको समर्थन जुटाउने क्रममा उनले महत्वपूर्ण समन्वयकारी भूमिका खेलेका थिए।
विशेष महाधिवेशनपछि पार्टीको प्रवक्ताको जिम्मेवारी पाएका चालिसेले १५औँ महाधिवेशनलाई कांग्रेसको संगठनात्मक तथा वैचारिक पुनर्संरचनाको अवसरका रूपमा लिँदै उपसभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।
उनको उम्मेदवारीसँगै कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदको प्रतिस्पर्धा थप रोचक बनेको छ।
आगामी नेतृत्वका लागि विभिन्न नेताहरूले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका बेला चालिसेले पनि आफूलाई उपसभापतिको प्रत्याशीका रूपमा अघि सारेका हुन्।
कांग्रेसमा एक वरिष्ठ उपसभापतिसहित चार जना उपसभापति रहने व्यवस्था छ।