इरानले अमेरिकासँग वार्ता नभएको दाबी गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच कुराकानी भइरहेको बताएका छन्।
ह्वाइट हाउसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले इरानमाथि दोस्रो विश्वयुद्ध पछिकै सबैभन्दा कडा आक्रमण गर्न आफू गत सप्ताहन्तमा तयार रहेको बताएका छन्। तर इरान र अन्य मध्यपूर्वी देशले वार्तामा प्रगति भएको भनेपछि इरान विरूद्ध नयाँ आक्रमण स्थगित गरेको दोहोर्याएका छन्।
त्यसयता युद्ध अन्त्य गर्ने विषयमा इरानसँगको वार्ता पुनः सुरू भएको उनले जानकारी दिए।
‘अहिले (वार्ता) भइरहेका छन्,’ भन्दै वार्ताको पहिलो चरणले स्ट्रेट अफ हर्मुज ‘भोलिसम्ममा पूर्ण रूपमा खुला’ गर्नेछ भनी भविष्यवाणी गरे। वार्ताको दोस्रो चरण परमाणु निःशस्त्रीकरणमा केन्द्रित हुने र त्यसलाई अलिकति समय लाग्ने उनले जनाए।
त्यसअघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकासँग कुनै वार्ता नगरेको र हर्मुज भएर हुने ढुवानीलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा ओमानसँगको वार्तामा केन्द्रित रहेको बताएका थिए।
‘हाल हामी अमेरिकासँग कुनै पनि वार्ता गरिरहेका छैनौं। हर्मुज भएर ढुवानीको सुरक्षित आवागमन पुनः सुरू गर्नका लागि मार्गबारे समझदारीमा पुग्नमा हाम्रा वार्ताहरू ओमानमा केन्द्रित छन्,’ बघाईले भने।
त्यसको केही घण्टापछि ट्रम्पले वार्ता भइरहेको दाबी गरेका हुन्।
ट्रम्पले आक्रमण स्थगित गर्नु अघि इरानलाई वार्तामा अमेरिकी सर्तहरू मान्न बाध्य पार्नका लागि इरानी पूर्वाधारमाथि आक्रमण गर्न लागेको अमेरिकी अधिकारीहरूले संकेत गरेका थिए।
यस्तोमा साउदी अरबका शासक मोहम्मद बिन सलमानले ट्रम्पसँग शनिबार कुराकानी गरेर आक्रमणको योजनाप्रति चिन्ता व्यक्त गरेको अमेरिकी अनलाइन एक्सियसले लेखेको थियो।
कतार, संयुक्त अरब इमिरेट्स, टर्की र पाकिस्तानलगायत अन्य राष्ट्रहरूले पनि अमेरिका र इरानलाई तनाव कम गर्न दबाब दिइरहेका छन्। इरानको पूर्वाधार र ऊर्जा केन्द्रहरूमाथि आक्रमण गर्दा युद्ध थप चर्किने खतरा थियो।
त्यसैले ट्रम्पले हाललाई इरानमाथि थप आक्रमण नगर्ने घोषणा गरेका थिए। त्यसपछि इरानसँग वार्ता भइरहेको उनले दाबी गरेका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)