सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफू कांग्रेस हुन सक्ने सम्भावनाका विभिन्न प्रसंग सुनाउँदै नेपाली कांग्रेसप्रति टिप्पणी गरेका छन्।
कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै लामिछानेले कांग्रेसले पार्टीप्रतिको निष्ठालाई महत्त्व दिएको भए, समानुपातिक प्रतिनिधित्वलाई व्यवहारमा उतारेको भए र युवा नेतृत्वलाई समयमै अवसर दिएको भए आफू पनि कांग्रेस हुन सक्ने बताएका हुन्।
'मै पनि कांग्रेस हुन्थेँ होला,' उनले भने, 'यदि कांग्रेसले बेलैमा पार्टीको निष्ठालाई पुँजी मान्नेहरूलाई महत्त्व दिएको भए, न कि भौतिक पुँजी भएकाहरूलाई महत्त्व नदिएको भए, मै पनि कांग्रेस हुन्थेँ होला।'
कांग्रेसले दुर्गम र पिछडिएको क्षेत्रका मानिसलाई समानुपातिक प्रतिनिधित्वका नाममा अवसर दिने कुरा गरे पनि टिकट वितरणमा सबभन्दा अगाडि र धेरै अवसर पाएका मानिसलाई प्राथमिकता दिएको उनको टिप्पणी थियो।
'मै पनि कांग्रेस हुन्थेँ होला यदि कांग्रेसले दुर्गमको दुरदराजको पिछडिएको क्षेत्रको मान्छेलाई समानुपातिक भनिरहँदा सबभन्दा अगाडि र सबभन्दा बढी अवसर पाएका मान्छेलाई टिकट वितरणमा प्राथमिकता नदिएको भए,' उनले भने।
लामिछानेले कांग्रेसले युवा नेतृत्वलाई अघि बढाउने प्रेरणा समयमै दिएको भए पनि आफू कांग्रेस हुन सक्ने बताए।
'आज ५० वर्षको सभापति पाउँदा गौरवको महसुस गरिरहनुभएको छ। ४० सै वर्षमा सभापति बन्ने प्रेरणा दिँदा त्यो प्रेरणा लिएको भए मै पनि कांग्रेस हुन्थेँ होला,' उनले भने।
कांग्रेसले आफ्नो पार्टीको चुनाव चिह्न छाडेर अर्को पार्टीको चुनाव चिह्नमा मतदान गर्न निर्देशन नदिएको भए पनि आफू कांग्रेस हुन सक्ने उनको अर्को टिप्पणी थियो।
'मै पनि कांग्रेस हुन्थेँ होला यदि कांग्रेसले आफ्नो यस्तो लहलहाउँदो रूखलाई छाडेर अर्कै पार्टीको अर्कै चुनाव चिह्नमा भोट हाल भनेर उर्दी जारी नगरेको भए,' उनले भने।
तर आफूहरू अब मिलेर मुलुकको जिम्मेवारी अघि बढाउने पक्षमा रहेको उनले बताए।
'तर केही छैन, केही छैन। मुलुकको जिम्मेवारी मिलेरै अगाडि बढ्ने हो, मिलेरै लिएर जाने हो,' लामिछानेले भने।
'अधिकार र पहिचान कागजमा होइन, व्यवहारमा चाहिन्छ'
लामिछानेले आफ्नो सम्बोधनको अर्को हिस्सा मधेस, अधिकार र पहिचानको प्रश्नमा केन्द्रित गरे।
कांग्रेस महाधिवेशन स्थलमा तराई–मधेसका प्रतिनिधिहरूको उपस्थिति देखाउँदै उनले मधेसका अधिकार र पहिचानका विषयमा धेरै भाषण, नारा र घोषणापत्र लेखिए पनि त्यसको व्यावहारिक कार्यान्वयनको प्रश्न बाँकी रहेको बताए।
'अधिकारको कुरा पनि धेरै चल्छ, यहाँ पनि चल्यो। पहिचानको अधिकारको धेरै कुरा चल्यो। भाषण, नारा, कागज, घोषणापत्रमा कति आए त्यसको गन्ती छैन,' उनले भने।
आफूले मधेसको छोरोलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अघि बढेको उल्लेख गर्दै उनले अधिकार र पहिचानका विषयमा कागज र व्यवहारबीचको फरकबारे बोल्न सक्ने दाबी गरे।
'म त गर्वका साथ मधेशको छोरालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अगाडि आएको हुनाले अधिकार के हो, पहिचान के हो, कागज के हो र व्यवहार के हो भन्ने कुराको आज वकालत गर्न सक्छु कि भन्ने दाबी गर्दै यहाँ प्रस्तुत भएको छु,' उनले भने।
उनले अधिकार र पहिचानका मुद्दालाई केवल विभिन्न क्लस्टरमा विभाजन गरेर कागजमा राख्ने नभई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताए।
'खुम्चिनु पर्दैन साथी हो। नखुम्चीकन हामीले अधिकार र पहिचानका मुद्दाहरूलाई स्थापित गर्नका निमित्त तिनलाई क्लस्टरमा विभाजित गरेर कागजमा जम्मा गर्ने होइन, व्यवहारमा लगाउनुपर्ने छ,' उनले भने।
'सरकार ढल्दैन, ढल्छ भने सरकार ढल्ने मान्छे ढल्छ'
लामिछानेले सरकारको स्थायित्वमाथि उठिरहेका प्रश्नको पनि जबाफ दिए।
'कहिलेकाहीँ सुनिन्छ सरकार कमजोर भयो, उस्तै परे सरकार ढल्छ। अहिले ढल्छ, भोलि ढल्छ, दसैंमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ, नेपालमा ढल्छ। ढल्छ कि ढल्छ भनेको बडो सुन्छु,' उनले भने।
सरकार पटक पटक ढल्ने भविष्यवाणी गर्नेहरूमाथि व्यंग्य गर्दै उनले यसपटक सरकार नढल्ने दाबी गरे।
'ढल्न त ढल्छ, तर यो पटक पटक सरकार ढल्छ भन्ने मान्छे चाहिँ सरकार नढलेको देखेर बेहोस भएर ढल्छ,' उनले भने, 'सरकार ढल्दैन, बिल्कुल ढल्दैन।'
यसपटकको सरकार व्यक्तिलाई चुनेर नभई इतिहास बदल्ने उद्देश्यसहित गठन गरिएको उनको दाबी थियो।
'किनकि हामीले यसपटक व्यक्तिलाई चुनेका होइनौं। हामीले इतिहासलाई साक्षी राखेर इतिहास बदल्ने प्रेरणासहित सरकार गठन गरेका हौं,' उनले भने।
'लोकतन्त्रको रक्षा हामीले नै गर्छौं भनेर ठेक्का नलिनुस्'
लामिछानेले लोकतन्त्रको रक्षाको विषयमा पनि कांग्रेसलाई लक्षित गर्दै टिप्पणी गरे।
उनले विगतमा संसदमै दुई राजनीतिक दल बिना कारण, संकट वा उद्देश्य एक ठाउँमा आउँदा त्यसले संकट निम्त्याउने बताएको स्मरण गरे।
'मैले त्यतिखेर संसदमै भनेको थिएँ कि दुई राजनीतिक दलहरू बिना कुनै कारण, बिना कुनै संकट, बिना कुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले संकट पैदा गर्छ भनेर मैले भनेकै थिएँ,' उनले भने।
आफूले त्यस बेला गरेको दाबी अहिले सत्य साबित भएको उनको भनाइ थियो।
'तपाईंहरूलाई ताली बजाउन मन लागे पनि नलागे पनि त्यो सत्य साबित भएको छ। त्यो प्रमाणित भएको छ र त्यसले हामीलाई जन्मायो,' उनले भने।
लामिछानेले कांग्रेससहितका दलहरूलाई लोकतन्त्रको रक्षाको नाममा आफूहरूलाई मात्र लोकतन्त्रको संरक्षकका रूपमा प्रस्तुत नगर्न आग्रह गरे।
'लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौं भनेर पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्,' उनले भने।
लोकतन्त्रलाई तत्काल खतरा नरहेको र खतरा आए जनताले त्यसको रक्षा गर्ने उनको दाबी थियो।
'लोकतन्त्रलाई खतरा छैन। खतरा भए जोगाउने जनता छन्, जनताले जोगाउँछन्,' उनले भने।
तर लोकतन्त्रको नाममा विधि र मूल्य–मान्यता तोड्दै जाने हो भने त्यसले सरकार वा देशलाई संकटमा पार्ने उनले चेतावनी दिए।
'तर लोकतन्त्रको नाममा हामीले विधि स्थापना गर्ने कुराहरूलाई, मूल्य–मान्यताहरूलाई तोड्दै गयौं भने त्यतिखेर भने सरकार अथवा देश संकटमा पर्छ,' उनले भने।