अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्।
तीनै देशका नेताबीच पहिलोपटक हुन लागेको यो त्रिपक्षीय भेटवार्ता चीनमा हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनका क्रममा हुनेछ।
ह्वाइट हाउसले शुक्रबार यसको जानकारी दिएको हो।
भेटवार्तामा विश्वमा आणविक हतियारको संख्या घटाउने र आणविक अस्त्रको विस्तार रोक्ने विषय प्रमुख प्राथमिकतामा रहने बताइएको छ।
ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले ट्रम्पले विश्वमा आणविक हतियार घटाउने विषयमा छलफल गर्ने स्पष्ट पारेकी छन्।
‘राष्ट्रपति ट्रम्पले विश्वमा आणविक हतियार घटाउने विषयमा छलफल गर्ने स्पष्ट पार्नुभएको छ। आणविक हतियारको विस्तार निकै खतरनाक रहेको उहाँको बुझाइ छ,’ उनले पत्रकारहरूसँग भनिन्।
विश्वका सबैभन्दा धेरै आणविक हतियार भएका तीन मुलुकका नेताबीच हुन लागेको यो भेटवार्तालाई आणविक हतियार नियन्त्रणका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।
अमेरिका र रुसबीच भएको पछिल्लो आणविक हतियारसम्बन्धी सन्धि गत फेब्रुअरीमा समाप्त भएको थियो।
उता चीनले भने आफ्नो आणविक हतियारको भण्डार तीव्र गतिमा विस्तार गरिरहेको छ।
यद्यपि, अमेरिकी अधिकारीहरूले यो भेटवार्ताबाटै आणविक हतियारसम्बन्धी नयाँ सम्झौता हुने अपेक्षा नरहेको बताएका छन्।
एक वरिष्ठ अमेरिकी अधिकारीले यसलाई तीन देशका शीर्ष नेताबीच आणविक विषयमा हुन लागेको पहिलो चरणको छलफलका रूपमा व्याख्या गरेका छन्।
‘हामी कुनै पनि प्रकारको सम्झौतामा पुग्ने अपेक्षा गरिरहेका छैनौँ। यसलाई यी देशका नेताहरूबीच हुन लागेको पहिलो संवादका रूपमा लिनुपर्छ,’ ती अधिकारीले भने।
उनका अनुसार यो भेटवार्ता भविष्यमा फलदायी संवाद अघि बढाउने सुरुवात हुन सक्छ।
आणविक हतियारबाहेक तीन देशका नेताबीच इरानको विषयमा पनि छलफल हुने अमेरिकी अधिकारीहरूले बताएका छन्।
यसैबीच, ट्रम्पको चीन भ्रमणमा अर्बपति उद्यमी इलन मस्क पनि सहभागी हुने अपेक्षा गरिएको छ।
तर उनी तीन देशका नेताबीच हुने त्रिपक्षीय भेटवार्तामा भने सहभागी नहुने एक वरिष्ठ अमेरिकी अधिकारीले बताएका छन्।