सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा पक्राउ परेका इनम सापकोटासँग आर्थिक कारोबार भएको देखिएको आरोपमा महेश श्रेष्ठ पक्राउ परेका छन्।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार कीर्तिपुरबाट पक्राउ गरेको हो।
सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको आरोपमा अनुसन्धान भइरहेका इनमसँग आर्थिक कारोबार भएको देखिएपछि महेशलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।
‘इनम सापकोटासँग आर्थिक लेनदेन भएको देखिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं,’ एसपी थापाले सेतोपाटीसँग भने।
महेश नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ हुन्।
इनमसँग उनको सम्बन्ध र लेनदेन कसरी भएको हो भन्ने कुरा अनुसन्धानका क्रममा खुल्ने एसपी थापाले बताए।
इनमलाई प्रहरीले असोज १४ गतेदेखि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनलाई दिल्ली जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल परीक्षणका क्रममा सापकोटासँग नियमित सम्पर्क भएको देखिएपछि प्रहरीले इनमलाई पक्राउ गरेको थियो।
त्यसपछि उनीविरूद्ध सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर र विदेशी विनिमयसम्बन्धी विषयमा अनुसन्धान अघि बढाइएको हो।