तीन महाशक्ति अमेरिका, चीन र रूसका राष्ट्रप्रमुखहरू एउटै टेबलमा बसेर लामो छलफल गरे।
चीनको सेनजेनमा बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको छलफललाई ऐतिहासिक भनिएको छ।
तीन महाशक्ति राष्ट्रका प्रमुखहरू एउटै टेबलमा बस्ने तय भएपछि विश्वले यसलाई चासोका साथ हेरेको थियो।
उनीहरू छलफल गरिरहँदा विश्व भूराजनीति जटिल मोडमा थियो। अमेरिका आफै इरानसँग युद्धमा छ। रूस २०२२ देखि युक्रेनसँग युद्ध लडिरहेको छ।
युद्धले विश्वको आपूर्ति शृंखला तहसनहस बनाएको छ। महँगीले विश्व आक्रान्त छ।
त्यसकारण यसको समाधानका लागि तीन नेताहरूले कस्तो पहल लिन्छन् भन्ने कोणबाट ट्रम्प, सी र पुटिनबीचको छलफललाई विश्वले चासोका साथ हेरेका थिए।
तर छलफल त्यति उपलब्धिमूलक नबनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
चीनको सेन्जेनमा बिहीबार भएको तीन नेताबीचको भेट ८१ मिनेट चलेको थियो।
यति छोटो समयमा विश्वका तीन शक्तिशाली देशका नेताहरूले युक्रेन र इरान युद्धदेखि आणविक हतियार नियन्त्रण, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यवस्थासम्मका विषयमा छलफल गरे।
तर भेटपछि कुनै ठोस सहमति वा महत्त्वपूर्ण उपलब्धि सार्वजनिक भएन।
अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार भेटपछि जारी गरिएको संयुक्त घोषणामा संयुक्त राष्ट्रसंघको सुधार, तेल आपूर्ति बढाउने, आणविक जोखिम घटाउने र अन्तर्राष्ट्रिय फौजदारी अदालतको क्षेत्राधिकारसम्बन्धी विषय समेटिए।
तर युक्रेन र इरान युद्धबारे एक शब्द पनि उल्लेख गरिएन।
यसले तीन नेताबीचको भेटबाट युद्ध रोक्ने वा त्यसले सिर्जना गरेको संकट कम गर्ने अपेक्षा तत्काल पूरा नभएको देखाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ऐतिहासिक भेटका पाँच उपलब्धि भनेर केही विषय उल्लेख गरेका छन्।
सीको कूटनीतिक प्रभाव विस्तार
यो भेटको सबैभन्दा ठूलो उपलब्धि चीनका राष्ट्रपति सी चिनफिङका लागि कूटनीतिक महत्त्व बढाउने अवसर बनेको विश्लेषण गरिएको छ।
तीन नेताको भेट चीनमा हुनु र सीले त्यसको आतिथ्य गर्नुले अर्थ राख्छ। विश्वका दुई शक्तिशाली नेताहरूलाई एउटै टेबलमा राखेर सीले चीनलाई अन्तर्राष्ट्रिय कूटनीतिको केन्द्रमा प्रस्तुत गर्ने अवसर पाएको एपीले लेखेको छ।
सीले भेटको सुरुवातमै शक्तिशाली राष्ट्रहरूबीचको सम्बन्धले विश्वको स्थिरता निर्धारण गर्ने बताएका थिए।
‘इतिहासले देखाएको छ- जब शक्तिशाली राष्ट्रहरू शान्तिमा रहन्छन्, विश्व सुरक्षित हुन्छ। जब उनीहरूबीच द्वन्द्व हुन्छ, विश्व अराजकतामा फस्छ,’ छलफलको सुरूवातमा सीले भने।
तर सीले युक्रेन वा इरान युद्ध समाधानका लागि कुनै ठोस प्रतिबद्धता जनाएनन्।
ट्रम्पले इरान र युक्रेनका विषयमा छलफल भएको बताएका थिए। तर सी वा पुटिनले ती युद्ध समाधान गर्न सहयोग गर्ने सहमति दिएको भन्ने विषयहरू सार्वजनिक भएको छैन।
पुटिनलाई अन्तर्राष्ट्रिय मञ्चमा फर्कने अवसर
यो भेट रुसी राष्ट्रपति पुटिनका लागि पनि महत्त्वपूर्ण थियो।
युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा देशहरूको प्रतिबन्ध र कूटनीतिक दबाब सामना गरिरहेका पुटिनले विश्वका दुई ठूला शक्तिका नेतासँग एउटै मञ्च साझा गर्ने अवसर पाए।
अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेन युद्धसँग सम्बन्धित आरोपमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
यस्तो अवस्थामा चीनमा भएको यो भेटले उनलाई अन्तर्राष्ट्रिय राजनीतिमा अलग पार्न नसकिएको सन्देश दिने अवसर दियो।
भेटको सुरुवातमा पुटिनले युक्रेन युद्धको प्रसंगसमेत उठाएका थिए।
उनले क्षेत्रीय द्वन्द्व समाधान गर्ने विषयमा तीन देशका साझा हित रहेको उल्लेख गरेका थिए।
‘युक्रेनको द्वन्द्वसहित क्षेत्रीय द्वन्द्व समाधान गर्ने विषयमा हाम्रा धेरै साझा हित छन्,’ उनले भनेका थिए।
तर युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कुनै ठोस सहमति हुन सकेन।
द गार्डियनका अनुसार युद्धबारे छलफल भए पनि त्यसले कुनै सफलता हासिल गरेन। संयुक्त घोषणामा समेत युक्रेन युद्ध समेटिएन।
आणविक हतियार नियन्त्रणमा पनि सहमति जुटेन
तीन नेताबीचको भेटमा आणविक हतियार नियन्त्रण अर्को महत्त्वपूर्ण विषय थियो।
अमेरिका र रुससँग विश्वका सबैभन्दा ठूलो आणविक हतियार भण्डार छन् भने चीनले पनि आफ्नो आणविक क्षमता विस्तार गरिरहेको छ।
ट्रम्पले तीन देशबीच आणविक हतियार नियन्त्रणसम्बन्धी सहमति आवश्यक रहेको बताउँदै आएका थिए। तर भेटपछि यस विषयमा कुनै सम्झौता भएन।
चीनले अमेरिका र रुससँग समान स्तरको आणविक हतियार नियन्त्रण सम्झौतामा सहभागी हुन अनिच्छा देखाउँदै आएको छ। त्यसैले तीन देशबीच यस विषयमा सहमति जुट्ने सम्भावना कम रहेको विश्लेषण हुँदै आएको थियो।
भेटपछि जारी घोषणामा आणविक जोखिम घटाउन संवाद गर्ने विषय भने समेटिएको छ। तर हतियार नियन्त्रणका लागि कुनै निश्चित योजना वा समयसीमा तय भएको छैन।
इरान युद्ध र ऊर्जा संकटमा पनि ठोस प्रगति भएन
इरान युद्धले मध्यपूर्वको सुरक्षा र विश्वको ऊर्जा आपूर्तिमा असर पारेको छ।
विशेषगरी होर्मुज जलमार्गमा उत्पन्न अवरोधले विश्व बजारमा इन्धन आपूर्तिलाई प्रभावित बनाएको छ।
ट्रम्पले इरान र युक्रेन युद्ध दुवै विषयमा छलफल गर्ने बताएका थिए।
भेटपछि उनले सीसँग इरानले होर्मुज जलमार्ग खुला राख्नुपर्ने र आणविक हतियार बनाउन नपाउने विषयमा सहमति भएको दाबी गरेका थिए।
तर एपीका अनुसार चीन वा रुसले इरान युद्ध समाधान गर्न अमेरिकालाई सहयोग गर्ने प्रतिबद्धता जनाएको देखिएन।
तीन नेताको संयुक्त घोषणामा पनि इरान युद्धको उल्लेख छैन।
ऊर्जा आपूर्तिबारे भने तीन देशबीच सहकार्य बढाउने र तेलको आपूर्ति विस्तार गर्ने विषय समेटिएको छ।
तर युद्धका कारण सिर्जना भएको आपूर्ति संकट तत्काल समाधान गर्ने कुनै ठोस योजना सार्वजनिक भएन।
अन्तर्राष्ट्रिय संस्थामाथि साझा चासो
भेटपछि जारी संयुक्त घोषणामा संयुक्त राष्ट्रसंघको सुधार, आणविक जोखिम घटाउने संवाद, तेल आपूर्ति र अन्तर्राष्ट्रिय फौजदारी अदालतको क्षेत्राधिकारसम्बन्धी विषय समेटिएका छन्।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको अधिकारक्षेत्र र त्यसका निर्णयमाथि तीन देशका नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्।
ट्रम्पले पनि अदालतको आलोचना गर्दै आएका छन्।
पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको अदालतप्रति रुसको असन्तुष्टि छ।
चीनले पनि अन्तर्राष्ट्रिय संस्थाहरूमा पश्चिमा देशहरूको प्रभाव घटाउनुपर्ने धारणा राख्दै आएको छ।
यसरी तीन देशबीच केही विषयमा समान धारणा देखिए पनि युद्ध, सुरक्षा र विश्व व्यवस्थाका प्रमुख संकटमा उनीहरूबीच सहमति जुट्न सकेन।
८१ मिनेटको भेटले तीन शक्तिशाली देशका नेताहरूबीच संवादको ढोका भने खोलेको छ।
तर युक्रेन र इरान युद्ध अन्त्य गर्ने, आणविक हतियार नियन्त्रण गर्ने वा विश्वको ऊर्जा संकट कम गर्ने विषयमा कुनै निर्णायक उपलब्धि हासिल भएन।
द गार्जियन र एपीले पनि भेटलाई ठोस सहमतिभन्दा कूटनीतिक संवाद र शक्ति प्रदर्शनको अवसरका रूपमा व्याख्या गरेका छन्।
सीले चीनको कूटनीतिक प्रभाव विस्तार गर्ने, पुटिनले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति देखाउने र ट्रम्पले दुई शक्तिशाली नेतासँगको सम्बन्ध प्रदर्शन गर्ने अवसर पाए।
तर विश्वले अपेक्षा गरेको संकट समाधानको बाटो भने अझै नखुलेको भनिएको छ।