कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व आज देशभर भगवान् विष्णुको पूजा आराधना र तुलसी–दामोदरको विवाह गरी मनाइँदैछ।
यस अवसरमा देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ।
हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास छ।
त्यसैले यस दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिएको हो। यसलाई वर्षकै ठूलो एकादशीका रूपमा पनि लिइन्छ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिनालाई चतुर्मास भनिन्छ।
यस अवधिमा भगवान् विष्णु शयन गर्ने धार्मिक मान्यताअनुसार विवाह, व्रतबन्धलगायत माङ्गलिक कार्य गरिँदैन।
आज विष्णु ब्युँझिएसँगै चतुर्मास समाप्त हुने र माङ्गलिक कार्य सुरु गर्ने परम्परा छ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको आज विधिपूर्वक विवाह गरिन्छ।
तुलसीको मठलाई गाईको गोबर र रातो माटोले पोतेर फूलमालाले सजाइन्छ। त्यसपछि भगवान् विष्णुको प्रतीक दामोदरका रूपमा निगालो गाडेर तुलसीसँग विवाह गराउने चलन छ।
तुलसीलाई विष्णुप्रिया मानिने भएकाले यस दिन तुलसी र दामोदरको विवाह गराउने परम्परा बसेको हो।
आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखेर यात्रा गराउने चलन पनि छ।
रात्रिमा शङ्ख, घण्ट र ढोल बजाउँदै भगवान् विष्णुलाई ब्युँझाउने धार्मिक विधि गरिन्छ। यस अवसरमा भक्तजनले व्रत बसेर विष्णुको पूजा आराधना, भजनकीर्तन र दीप प्रज्वलन गर्छन्।
हरिबोधिनी एकादशीका दिन अन्न नखाई फलाहार गर्ने परम्परा छ।
व्रतालुले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर खाने गर्छन्। आजको व्रत, पूजा र दानले पुण्य प्राप्त हुने तथा पापबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ।
कार्तिक महिनामा भगवान् विष्णुलाई तुलसीपत्र अर्पण गर्नु विशेष फलदायी मानिन्छ। हरिबोधिनी एकादशीका अवसरमा काठमाडौँ उपत्यकाका चार नारायण-चाँगुनारायण, शेषनारायण, इचँगुनारायण र विशङ्खुनारायणमा विशेष मेला लाग्छ।
यी मन्दिरमा दर्शन गर्न नसक्नेले बूढानीलकण्ठस्थित नारायणस्थानमा दर्शन गर्दा चार नारायणको दर्शन गरेसरह फल प्राप्त हुने धार्मिक विश्वास छ।
बूढानीलकण्ठस्थित नारायणस्थानमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने मठाधीश स्वामी निगमानन्दले बताएका छन्।
यहाँ एउटै विशाल शिलामा भगवान् विष्णु र शिवको मूर्ति रहेकाले यसलाई धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल मानिन्छ।
आज देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी हरिबोधिनी एकादशी मनाइँदैछ।
आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म तुलसीको हवनका लागि साइत हेराउनु नपर्ने धार्मिक मान्यता छ।
त्यसपछि साइत जुराएर तुलसी पूजा उद्यापन गरेसँगै चारमहिने तुलसी पूजाको समापन हुन्छ।