चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार भएको ऐतिहासिक त्रिपक्षीय शिखर वार्तापछि तीन देशले संयुक्त रूपमा चार बुँदे घोषणा जारी गरेका छन्।
विश्वका तीन प्रमुख शक्तिबीच भएको वार्तापछि जारी 'शान्ति घोषणा' मा संयुक्त राष्ट्र संघको सुधार, पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति वृद्धि, अन्तर्राष्ट्रिय फौजदारी अदालतको अधिकार क्षेत्र र आणविक हतियारको जोखिम न्यूनीकरणका विषय समेटिएका छन्।
तर वार्ताको प्रमुख एजेन्डा मानिएका युक्रेन र इरान युद्ध अन्त्य गर्ने विषयमा कुनै ठोस सहमति भएको छैन।
युद्धविराम वा शान्ति प्रक्रियाको कार्ययोजना त छैन न, तीन देशले जारी गरेको संयुक्त घोषणामा यी दुई युद्धको नाम समेत उल्लेख छैन।
चीनको सेन्जेनमा जारी एसिया–प्रशान्त आर्थिक सहयोग संगठन (एपेक) को शिखर सम्मेलनका क्रममा तीन देशका राष्ट्रपतिबीच पहिलो पटक औपचारिक त्रिपक्षीय वार्ता भएको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार सेन्जेनस्थित किलिन भिल्लामा भएको बन्द कोठाको वार्ता एक घन्टा २० मिनेट चलेको थियो। बैठकपछि चीन र अमेरिकाले आ–आफ्ना सरकारी वेबसाइटमार्फत संयुक्त घोषणाको पूर्ण पाठ सार्वजनिक गरेका छन्।
घोषणामा तीन देशले अन्तर्राष्ट्रिय रणनीतिक स्थिरता र सुरक्षा कायम राख्न प्रतिबद्धता जनाएका छन्।
पहिलो बुँदामा संयुक्त राष्ट्र संघ सुधार गर्ने प्रतिबद्धता छ।
संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका स्थायी सदस्य रहेका तीन देशले विश्वव्यापी चुनौती सामना गर्न राष्ट्र संघलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
विश्व शान्ति र सुरक्षा कायम गर्ने राष्ट्र संघको मूल उद्देश्य अनुसार संस्थागत सुधार गर्ने उनीहरूको प्रतिबद्धता छ।
दोस्रो बुँदा अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिसँग सम्बन्धित छ।
घोषणामा तीन देशले प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति बढाउने योजना रहेको बताएका छन्। यसबाट विश्वका सबै देशलाई फाइदा पुग्ने उनीहरूको दाबी छ।
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय पेट्रोलियम आपूर्ति प्रभावित भइरहेको समयमा यो विषयलाई संयुक्त घोषणामा समावेश गरिएको हो। तर उत्पादन कति बढाउने, कसले कति आपूर्ति गर्ने र यो योजना कहिलेदेखि कार्यान्वयन गर्ने भन्ने खुलाइएको छैन।
तेस्रो बुँदामा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को अधिकार क्षेत्रबारे साझा धारणा राखिएको छ।
तीन राष्ट्रपतिले कुनै देशको सहमति र सरकारी अधिकारीहरूले पाउने कानुनी उन्मुक्तिको सम्मान महत्त्वपूर्ण रहेको बताएका छन्। उनीहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालत तथा त्यस्तै प्रकृतिका अन्य निकायले आफ्नो अधिकार क्षेत्रको दुरूपयोग गर्न नहुनेमा जोड दिएका छन्।
यो बुँदालाई अन्तर्राष्ट्रिय राजनीतिमा अर्थपूर्ण मानिएको छ।
एएफपीका अनुसार रूसी राष्ट्रपति पुटिनविरूद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेको छ। ट्रम्प प्रशासनले पनि उक्त अदालतको आलोचना गर्दै यसका अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ।
चीन, अमेरिका र रूसबीच अन्तर्राष्ट्रिय फौजदारी अदालतको अधिकार क्षेत्रबारे साझा धारणा सार्वजनिक भए पनि घोषणाले अदालतको कानुनी अधिकारमा कुनै परिवर्तन गरेको छैन।
घोषणाको चौथो बुँदा आणविक हतियारसँग सम्बन्धित छ।
तीन राष्ट्रपतिले आणविक युद्ध कसैले जित्न नसक्ने र यस्तो युद्ध कहिल्यै हुन नहुने मान्यता दोहोर्याएका छन्। उनीहरूले आणविक जोखिम घटाउने र आणविक हतियारको प्रसार रोक्ने विषयमा संवाद गर्ने प्रतिबद्धता जनाएका छन्।
तर आणविक हतियार कटौतीको कुनै निश्चित लक्ष्य, समयसीमा वा बाध्यकारी सम्झौता भएको छैन।
समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार अमेरिका र रूसबीचको अन्तिम प्रमुख आणविक हतियार नियन्त्रण सम्झौता 'न्यू स्टार्ट' गत फेब्रुअरीमा समाप्त भएको थियो। ट्रम्पले चीनलाई समेत समेटेर नयाँ आणविक हतियार नियन्त्रण सम्झौता गर्नुपर्ने प्रस्ताव अघि सार्दै आएका छन्।
तर चीनसँग अमेरिका र रूसको तुलनामा निकै कम आणविक हतियार छन्। चीनसँग ६ सय वटाभन्दा बढी आणविक हतियार रहेको अनुमान छ भने अमेरिका र रूससँग पाँच–पाँच हजारभन्दा बढी भएको एपीले लेखेको छ।
यस्तो असमानताका कारण तीन देशबीच आणविक हतियार कटौतीको सम्झौता सहज देखिएको छैन।
विश्वका तीन प्रमुख आणविक शक्तिबीच भएको यो वार्तालाई युक्रेन र इरान युद्धका कारण विशेष चासोका साथ हेरिएको थियो।
रूसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरू गरेको थियो। झन्डै पाँच वर्षदेखि जारी युद्ध अन्त्यका लागि ट्रम्पले पटक पटक कूटनीतिक पहल गरेका छन्। युक्रेन युद्ध अन्त्य गर्ने विषयमा सी र पुटिनसँग छलफल गर्ने ट्रम्पको तयारी थियो।
वार्ताअघि ट्रम्पले आणविक हतियारको संख्या घटाउने र त्यसको प्रयोग हुने जोखिम कम गर्ने विषयमा तीन देशबीच सहकार्य गर्न सकिने बताएका थिए। उनले बैठकलाई इतिहास निर्माण गर्ने अवसरका रूपमा प्रस्तुत गरेका थिए।
'हामी वास्तवमै इतिहास रचिरहेका छौं,' ट्रम्पले बैठकको सुरूमा भनेका थिए।
चिनियाँ राष्ट्रपति सीले ठूला शक्तिहरूबीच शान्ति भए विश्वमा स्थिरता आउने तर उनीहरूबीच टकराव हुँदा विश्व अशान्त हुने धारणा राखेका थिए। रूसी राष्ट्रपति पुटिनले पनि विश्व शान्ति र सुरक्षा कायम गर्ने विषयमा तीन देशको साझा जिम्मेवारी रहेको बताएका थिए।
तर ती प्रतिबद्धता युद्ध अन्त्य गर्ने ठोस सम्झौतामा रूपान्तरण भएनन्।
बैठकको सुरूमा युक्रेन युद्धको विषय उठे पनि अन्तिम घोषणामा युद्धविराम, रूसी सेना फिर्ता वा शान्ति वार्ताबारे कुनै कार्ययोजना समावेश छैन।
इरान युद्धका विषयमा पनि त्यस्तै अवस्था देखियो।
त्रिपक्षीय बैठकअघि ट्रम्पले सीसँग छुट्टै भेटवार्ता गरेका थिए। त्यसक्रममा उनले मध्यपूर्वबाट तेल आपूर्ति हुने महत्त्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ हर्मुजबाट पेट्रोलियम पदार्थको आपूर्ति निर्बाध हुनुपर्ने विषय उठाएका थिए।
ट्रम्पले यस विषयमा अमेरिका र चीनको साझा चासो रहेको बताएका एपीले जनाएको छ।
तर इरान युद्ध अन्त्य गर्ने, युद्धविराम गराउने वा स्ट्रेट अफ हर्मुजमा आवागमन सुनिश्चित गर्ने कुनै विशेष कार्ययोजना संयुक्त घोषणामा समावेश छैन।
यो ऐतिहासिक भेटपछि सीले छलफल सकारात्मक, रचनात्मक र उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन्।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीले विश्व शान्ति कायम गर्ने विषयमा तीन देशबीच साझा धारणा रहेको बताएका थिए।
पुटिनले पनि वार्ता खुला र स्पष्ट भएको बताएका छन्। उनले यस्तो त्रिपक्षीय संवादलाई उपयोगी र सार्थक भनेको एपीले लेखेको छ।
ट्रम्पले भने बैठक सकिएपछि पत्रकारहरूसँग कुनै प्रतिक्रिया दिएनन्। एपीका अनुसार उनी बैठकस्थलबाट निस्किएर एयर फोर्स वानमार्फत चीनबाट फर्किए।
बैठकअघि भने ट्रम्पले सी र पुटिन दुवैसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ट्रम्प र पुटिनबीच सन् २०२५ अगस्टपछि पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको हो। ट्रम्प र सीबीच भने यस वर्ष भएको यो तेस्रो महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता थियो।
यो शिखर वार्ताले विश्वका तीन शक्तिशाली राष्ट्रलाई पहिलो पटक औपचारिक त्रिपक्षीय संवादमा ल्याएको छ।
तीनै देश संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका स्थायी सदस्य हुन्। आणविक हतियार र विश्व सुरक्षाका विषयमा उनीहरूको निर्णयले अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्छ।
तर तीन महाशक्तिबीचको यस्तो संवादले साना देशहरूको भूमिकाबारे प्रश्न पनि उठाएको छ।
यो बैठकले ठूला शक्तिहरूले विश्वलाई आ–आफ्नो प्रभाव क्षेत्रमा बाँड्ने प्रयास गर्ने हुन् कि भन्ने चिन्ता जन्माएको एएफपीले लेखेको छ।
विशेषगरी युक्रेन र युरोपेली देशहरूको प्रत्यक्ष सहभागिताबिना उनीहरूको सुरक्षासँग सम्बन्धित विषयमा अमेरिका, चीन र रूसबीच छलफल हुनुलाई यसै सन्दर्भमा हेरिएको छ।
आणविक हतियार नियन्त्रण सम्बन्धी अमेरिकी संस्था आर्म्स कन्ट्रोल एसोसिएसनका कार्यकारी निर्देशक डेरिल किम्बलले पनि यो बैठकले तत्काल ठूलो उपलब्धि दिने अपेक्षा गर्नु उचित नहुने बताएका छन्।
एपीसँग उनले तीन नेताबीचको भेटघाट र फोटो खिचाउने अवसरभन्दा अघि बढेर आणविक हतियार कटौतीका लागि निरन्तर र ठोस वार्ता आवश्यक रहेको बताएका छन्।
बिहीबारको शिखर वार्ताले संवादको औपचारिक सुरूआत गरेको छ। संयुक्त राष्ट्र संघ सुधार, ऊर्जा आपूर्ति र आणविक जोखिम न्यूनीकरणजस्ता विषयमा तीन देशले साझा प्रतिबद्धता पनि जनाएका छन्।
तर विश्व शान्तिलाई मुख्य उद्देश्य बनाएको भनिएको यस ऐतिहासिक बैठकबाट युक्रेन र इरानमा जारी युद्ध अन्त्य गर्ने कुनै ठोस प्रस्ताव आउन सकेन।
तीन महाशक्तिले संयुक्त घोषणामार्फत शान्तिको प्रतिबद्धता जनाएका छन्। अब त्यो प्रतिबद्धता व्यवहारमा कसरी लागू हुन्छ, त्यो हेर्न बाँकी नै छ!
***